२४ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

चिलिमेमा २४ जनाको उद्धार भएको खबर भ्रामक

फाइल तस्बिर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका २४ जना कामदारको सकुशल उद्धार भइसकेको भनी सामाजिक संजालमा भाइरल भइरहेको खबर भ्रामक भएको पाइएको छ।

घटनास्थलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिएको उक्त सूचना निराधार रहेको बताएका हुन्।

घटनास्थलमा उद्धार कार्य अझै जारी रहेको उनले जानकारी दिए। उनका अनुसार सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लगाउन अहिले पनि प्राविधिक तयारी भइरहेको छ।

घटनास्थलको पछिल्लो अवस्थाबारे जानकारी दिँदै सांसद न्यौपानेले आज साँझ वा भोलिसम्ममा अस्थायी पहुँचमार्ग (ट्रयाक) निर्माण सम्पन्न गरेर सुरुङभित्र एक्साभेटर पुर्‍याउने योजना रहेको सुनाए। सुरुङको मुखसम्म भारी उपकरण नपुगेका कारण उद्धार कार्यले सोचेजस्तो गति लिन नसकेको उनको भनाइ छ।

सुरुङभित्र एक्साभेटर प्रवेश गरेपछि भने भग्नावशेष पन्छाउने र उद्धार गर्ने कार्यले उल्लेख्य तीव्रता पाउने सांसद न्यौपानेले विश्वास व्यक्त गरे।

सबै संयन्त्र प्रभावकारी रूपमा परिचालन हुन सके बढीमा तीन दिनभित्र उद्धार कार्य पूर्ण रूपमा सम्पन्न गरिसकिने उनले जानकारी दिए।

प्रकाशित: २४ भाद्र २०८३ १६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App