१५ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

शव पहिचानका लागि आफन्तलाई डीएनए नमुना बुझाउन प्रहरीको आग्रह, यसरी बुझाउनुहोस्

नेपाल प्रहरीले रसुवाको भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका स्वदेशी तथा विदेशी नागरिकहरूको पहिचानका लागि परिवारका सदस्यहरूलाई डीएनए परीक्षण हेतु रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ।

बाढी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अंगहरूको वैज्ञानिक परीक्षणमार्फत पहिचान गरी परिवारलाई हस्तान्तरण गर्न प्रहरीले यस्तो अपिल गरेको हो।

प्रहरीका अनुसार पहिचान प्रक्रियालाई सहज र विश्वसनीय बनाउन बेपत्ता व्यक्तिका प्रथम श्रेणीका आफन्तले डीएनए नमुना दिनुपर्नेछ।

नेपालमा रहेका आफन्तहरूले दुई प्रति पासपोर्ट साइजको फोटोसहित काठमाडौंको नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी ताजा रगतको नमुना उपलब्ध गराउन अनुरोध गरिएको छ।

यसैगरी, विदेशमा रहेका बेपत्ता नागरिकका प्रथम श्रेणीका आफन्तले सम्बन्धित देशको आधिकारिक फोरेन्सिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ गराउनुपर्नेछ। त्यसरी प्राप्त डीएनए प्रोफाइलको सफ्ट कपी पहिचान तथा मिलानका लागि नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन आग्रह गरिएको छ।

इमेल पठाउँदा सम्बन्धित व्यक्तिको पूरा नाम र राष्ट्रियता, पासपोर्ट वा परिचयपत्रको विवरण, बेपत्ता भएको मिति र स्थान (थाहा भएसम्म), आधिकारिक फोरेन्सिक ल्याबबाट प्राप्त डीएनए प्रोफाइल रिपोर्ट तथा नमुना दिने व्यक्ति र बेपत्ता व्यक्तिबीचको नाता खुल्ने विवरण अनिवार्य समावेश गर्नुपर्नेछ।

बाढीपछि विभिन्न स्थानबाट शव तथा मानव अंगहरू फेला पर्ने क्रम जारी रहेकाले तिनको पहिचान निकै चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।

डीएनए परीक्षणले शवको वैज्ञानिक पहिचान गरी परिवारलाई जिम्मा लगाउन र बेपत्ताको अवस्था यकिन गर्न मद्दत पुग्नेछ। डीएनए नमुना संकलन तथा पहिचानसम्बन्धी थप जानकारीका लागि नेपाल प्रहरीका सम्पर्क अधिकृत प्रहरी निरीक्षक शम्भु बहादुर केसीलाई मोबाइल नम्बर ९८४१६१६०९५८ मा सिधै सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

प्रकाशित: १५ भाद्र २०८३ १७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App