१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

निर्मल पुर्जाको नयाँ रेकर्ड : ८ हजारमाथिका चुचुरा ५० पटक चुम्ने प्रथम आरोही

विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स’ आठ हजार मिटरभन्दा अग्ला हिमालमा ५० पटक पुगेका छन्।

पुर्जाले पाकिस्तानको नांगा पर्वतमा पुगेर हिमाल आरोहणमा हाफ सेन्चुरी पूरा गरेका हुन्। यो विश्वभरका पर्वतारोहीका लागि निकै दुर्लभ रेकर्ड हो। ५० आरोहणमा पुर्जाले २२ आरोहण अक्सिजनबिना नै गरेका छन्।

नेपाल र बेलायतको दुई सय वर्ष पुरानो मैत्रीपूर्ण सम्बन्धको सम्मानमा पूज चुचुरामा गोर्खा र यूके स्पेसल फोर्सेसको झण्डा फहराएको निम्सको इलाइट एक्सपिडका प्रतिनिधि गोविन्द बरुवालले बताए। 'यो कोशेढुङ्गा पार गर्नुमा म ज्यादै भाग्यमानी महसुस गर्छु, मलाई सधैँ नै लागिरहन्छ मेरो उद्देश्य चुचुरोभन्दा पर हो,’ आरोही पुर्जाको भनाइ उद्दत गर्दै बरुवालले भने।  

‘आरोहण क्षेत्रमा लागेपछि मैले देखेको यो एउटा सपना पूरा भएको छ, विश्वभरका हिमालहरू आरोहणका लागि सुरक्षित छन्,’ पुर्जाले व्हाट्सएप च्याटमा भने। १६ वर्ष बेलायती सेनामा काम गरेका पुर्जाले २०६९ सालको पुसमा पहिलोपटक सगरमाथा आधारशिविरसम्म पदयात्रा गरेका थिए। त्यही वर्ष पहिलो पटक ६ हजार १ सय १९ मिटर उचाइको लोबुचे हिमालबाट आरोहण यात्रा थालेको उनको भनाइ छ।

हिमाल आरोहणको १२ वर्षको अवधिमा पुर्जाले विश्वकै अग्लो सगरमाथासहित नेपालमा रहेका ८ र पाकिस्तान र चीनमा गरी १४ वटा अग्ला हिमालमा हाफ सेन्चुरी अर्थात् ५० पटक आरोहण गरेका छन्। साथै सातै महादेशका अग्ला चुचुरोमा बिनाअक्सिजन आरोहणमा कीर्तिमानी कायम अहिलेसम्म नेपाली र विदेशी आरोहीको नाममा छैन। पुर्जाले सबैभन्दा चुनौतीपूर्ण र खतरनाक हिमालमध्ये एक पाकिस्तानको केटुको आरोहण समेत दुर्लभ कीर्तिमानी छ। पुर्जाले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ आरोहण अहिलेसम्म कुनै पर्वतारोहीले तोड्न सकेको छैनन्।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पुर्जाले आफ्नै जिल्लामा भएका सातौं अग्लो धौलागिरी हिमाल र १० औं अग्लो अन्नपूर्ण हिमालको समेत पटकपटक आरोहण गरेका छन्। सन् २००३ मा पोखरास्थित ब्रिटिस क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी ट्रेनिङ सेन्टरबाट आधारभूत तालिमको ज्ञान प्राप्त गरेका थिए। कर्पोरल निर्मल बेसिक ट्रेनिङमा च्याम्पियन रिक्रुटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन ट्रेडमा कार्यरत थिए। क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिस आर्मीको कमाण्डो समेत गरेका थिए।

बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रूपमा समेत काम गरेका पुर्जाले गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए। सगरमाथा आरोहणका क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पुर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका छन्।

इलाइट एक्सपिडका संस्थापक समेत रहेका पुर्जाको नाममा पर्वतारोहणको क्षेत्रमा एक पछि अर्को दुर्लभ कीर्तिमानी छन्। हिमालमा मृत्युको पर्खाइमा अलपत्र आरोहीलाई समेत नि:शुल्क उद्धारसहित आपतकालीन अवस्थामा सहयोग समेत गर्ने गरेका छन्।

प्रकाशित: २६ असार २०८२ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App