२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङका तीन स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

सरकारले निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट चलिरहेका ताप्लेजुङका तीन स्थानीय तहमा शाखा अधिकृत तहका प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरी त्यहाँ नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिदिङ्वा गाउँपालिकामा महमद नवाज हुसेनलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरेको छ। हुसेन मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तरगत कार्यरत थिए। प्रमुख प्रशासकीय अधिकृत विकास विकको सरुवा भएपछि त्यहाँ तिवेन्द्र अधिकारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिरहेका छन्।

यस्तै मेरिङदेन गाउँपालिकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तरगत कार्यरत कमलबहादुर बस्नेतको सरुवा गरिएको छ। अहिले त्यहाँ स्वास्थ्य शाखाका संयोजक समेत रहेका उदयकुमार यादवले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिरहेका छन्। यस्तै मैवाखोला गाउँपालिकामा भाषा आयोगमा कार्यरत निर्मलकुमार राईको सरुवा गरिएको छ। त्यहाँ शिक्षा अधिकृत लक्ष्मीमाया गोम्देन निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा रहेकी छन्।

यसअघि त्यहाँ शशी लिङदेनको सरुवा भएपनि उनी नआईकनै नयाँ प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको छ। यस्तै सरकारले आठराई त्रिबेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताको सरुवा गरी नयाँ प्रमुख प्रशासकीय अधिकृतमा प्रमोदकुमारी चौधरीलाई पठाएको छ। मेहताको धनकुटास्थित चौबिसे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरिएको छ भने आठराईमा रामधुनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत चौधरीको सरुवा भएको छ।

यसअघि पाथीभरा याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भइसकेका चौधरी स्वास्थ्य सेवा अन्तर्गत मैवाखोला गाउँपालिकाका लामो समय कार्यरत थिए।

प्रकाशित: १३ भाद्र २०८२ १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App