गुन्द्रुक भन्नासाथ नेपालीको मुख रसाउँछ। नेपाली भान्साको लोकप्रिय खाद्य परिकार गुन्द्रुक तोरी, मुला र रायोको सागबाट बनाइन्छ।
यही गुन्द्रुकलाई विश्व बजारसम्म पुर्याउने अभियानमा जुटेका छन् नेपालकै पुराना तथा नाम चलेका ‘सेप’ अर्थात् भान्छेहरू। धेरै देशहरू खानाकै कारणले अर्थात् खानालाई नै ब्राण्डिंङ गरेर संसारभर प्रचारप्रसार गरी धनी बनेका छन्।
भक्तपुरमा आयोजित पत्रकार सम्मेलन गर्दै रोयल थाई हस्पिटालिटीका सञ्चालक गणेश ढकालले यही अभियान अन्तर्गत भदौ ४ गते आफ्नै रोयल थाइमा ‘भोजनलिपि स्वाद ६’ कार्यक्रम गर्न लागेको जानकारी दिए।
नेपाली महिलाहरुको महान् चाड तीजको अवसरमा गर्न लागिएको उक्त कार्यक्रममा नेपालको गुन्द्रुक र थाइ सुप खुवाउने योजना रहेको उनले सुनाए। कार्यक्रममा थाइ राजदूतलगायतलाई निम्ता गरिएको उनको भनाइ छ।
‘हामी गुन्द्रुकलाई ‘ब्राण्डिङ’ गरी विश्व बजारमा पुर्याउने मात्रै होइन’, उनले भने, ‘विभिन्न देशहरूमा पकाएर खुवाउने पनि योजनामा छौं।’ सुरुमा निःशुल्क गर्दै बिस्तारै एक डलर, दुई डलर लिँदै गुन्द्रुकलाई आयआर्जनको स्रोत बनाउने योजना आफूहरूले बनाएको उनले सुनाए।
नेपाली खानालाई ब्राण्डिङ गर्ने उद्देश्यका साथ नै आफूहरूले निरन्तर भोजनलिपि स्वाद कार्यक्रम चलाउँदै आएको बताउँदै ढकालले भोजनलिपि कार्यक्रम छैटौँ पटक हुन लागेको जानकारी दिए।
उनले यो कार्यक्रमलाई एक सय भागसम्म पनि निरन्तरता दिँदै लाने योजना रहेको सुनाए।
पत्रकार सम्मेलनमा उल्लेख्य संख्यामा पुराना सेप (भान्छे) हरू सहभागी भएका थिए। उनीहरूको सबैको एउटै भनाइ थियो, ‘हामी समूहका साथीहरू सबैले छोडे पनि म एक्लै भएपनि यो अभियानमा निरन्तर लागिरहनेछु।’
नेपालीको परम्परागत खाद्यवस्तुका रुपमा रहेको गुन्द्रुकको लोकप्रियता अहिले बढ्दै गएको छ। हरियो सागबाट तयार गरिने गुन्द्रुकलाई व्यावसायिक बनाउने योजनामा पनि कति नेपाली छन्। तर पनि यसले आशा गरे अनुसारको सफलता पाउन सकिरहेको छैन।
प्रकाशित: २९ श्रावण २०८२ २०:४६ बिहीबार





