राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले सुशासन, आत्मनिर्भरता र समृद्धिको लक्ष्यसहित आफूहरू शपथ ग्रहणकै दिनदेखि निरन्तर काममा जुटिरहेको बताएका छन्।
मंगलबार राष्ट्रिय प्रेस क्लब (एनपीसी) मा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै परियारले सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर नेपाल निर्माण गर्ने रास्वपाको लक्ष्य सामान्य नभएको बताए। जनतासामु गरिएको प्रतिबद्धताअनुसार काम, परिणाम र सुशासन सुनिश्चित गर्न पार्टी तथा सरकार निरन्तर क्रियाशील रहेको उनको दाबी थियो।
“सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर नेपाल बनाउने हाम्रो सपना चानचुने छैन। त्यसैले वाचापत्रअनुसार काम, परिणाम र सुशासन ल्याउन हामी शपथ ग्रहणकै दिनदेखि अहोरात्र खटिरहेका छौँ,” उनले भने।
परियारले जनताको विकास, समृद्धि र सुशासनप्रतिको अपेक्षालाई व्यवहारिक परिणाममा रूपान्तरण गर्नु आफूहरूको प्रमुख जिम्मेवारी भएको बताए। सरकार र पार्टीले जनतासामु गरेका प्रतिबद्धतालाई परिणाममा बदल्न इमानदार प्रयास गरिरहेको उनको भनाइ थियो।
संसद्मा रचनात्मक भूमिका र आत्मसुधार
परियारले संसद्लाई जनताका सवाल उठाउने र सरकारलाई जवाफदेही बनाउने प्रभावकारी थलोका रूपमा प्रयोग गर्नुपर्ने बताए। जनसरोकारका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आफूहरू निरन्तर सिक्ने, कमजोरी सच्याउने र आत्मसुधारको प्रक्रियामा रहेको उनले बताए।
राजनीतिक दल तथा जनप्रतिनिधिले आफूलाई सधैँ सही ठान्नुभन्दा जनताका प्रश्न, आलोचना र सुझावलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो।
रास्वपाका नेता, सांसद, मन्त्री तथा अन्य अगुवामा पद र शक्तिका कारण अहङ्कार बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गर्दै परियारले सञ्चारमाध्यम र नागरिक समाजलाई निर्भीक खबरदारी गर्न अपिल गरे।
“हामीबाट पनि कमजोरी हुन सक्छ। गलत काम वा गलत कार्यशैली देखिएमा खबरदारी गर्नुस्। पद र शक्तिको अहङ्कार बढ्न नदिन मिडिया र नागरिक समाजको निगरानी आवश्यक छ,” उनले भने।
जनताले दिएको विश्वासलाई उपलब्धि र परिणाममा रूपान्तरण गर्नु आफूहरूको मुख्य चुनौती र दायित्व भएको बताउँदै परियारले सुशासन, जवाफदेहिता र परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: ९ भाद्र २०८३ १९:०६ मंगलबार


-600x400.jpg)


-600x400.jpg)