९ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

दुर्गा प्रसाईंको दाबी- प्रहरीले अनुसन्धान भन्दै घरबाट खसी, कुखुरा लग्यो, फिर्ता गरेन

फाइल तस्बिर।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रहरीले अनुसन्धानका नाममा आफ्नो घरबाट इजाजतप्राप्त हतियार, मोबाइल, ल्यापटपदेखि खसी र कुखुरासमेत जफत गरेर ज्यादती गरेको आरोप लगाएका छन्।

आफूलाई गैरकानुनी रूपमा नजरबन्दमा राखिएको विरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइका लागि सोमबार सर्वोच्च अदालत पुगेका प्रसाईंले अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राज्यले आफूमाथि प्रतिशोध साँधेको दाबी गरेका हुन्।

प्रहरीले खानतलासीको नाममा आफ्नो घरमा भेटिएका जोकोहीको मोबाइल खोसेर लगेको र हालसम्म ६ थान मोबाइल, बालबच्चाले पढ्ने ल्यापटप तथा लाइसेन्सप्राप्त बन्दुक नियन्त्रणमा राखेको उनले बताए।

दुई दिनमै सामान फिर्ता गर्ने भनिए पनि पाँच दिन बितिसक्दा समेत केही पनि फिर्ता नगरेको भन्दै उनले आक्रोश व्यक्त गरे। इजाजतप्राप्त हतियार र व्यक्तिगत सामग्री जफत गरेर राज्यले लुटधन्दा चलाएको उनको आरोप छ।

प्रहरीको कारबाहीमाथि व्यंग्य गर्दै प्रसाईंले खानतलासीका क्रममा खसी, कुखुरा र खुकुरीसमेत अनुसन्धानको नाममा उठाइएको बताए।

इजलासमा समेत आफूले यसबारे प्रश्न उठाएको उल्लेख गर्दै उनले भने, ‘भाले देख्यो इन्भेस्टिगेसन, खसी देख्यो इन्भेस्टिगेसन, खुकुरी देख्यो इन्भेस्टिगेसन, भेटेजति सबै उठाएर लान मिल्छ ? खसी र कुखुरामाथि कस्तो अनुसन्धान हुन्छ ?’

सरकारले अदालतमा आफूलाई नजरबन्दमा नराखेको भन्दै झुट्टा प्रतिवेदन पेस गरेको दाबी गर्दै प्रसाईंले घरवरिपरि ठूलो संख्यामा प्रहरी तैनाथ गरेर बाहिर निस्कन नदिनु नजरबन्द नै भएको जिकिर गरे।

यदि त्यो नजरबन्द नभएको भए राज्यले आफूलाई भीआईपी सुरक्षा दिएको औपचारिक घोषणा गर्नुपर्ने उनको भनाइ थियो।

यसैगरी, आफूले राष्ट्रियता र देशका प्राकृतिक स्रोत-साधनका विषयमा निरन्तर आवाज उठाएका कारण सरकार त्रसित भएर आफ्नो आवाज दबाउन लागिपरेको उनले दाबी गरे।

मुस्ताङमा ३८ देखि ४० टन बहुमूल्य युरेनियम तथा लिथियम रहेको र त्यस्ता संवेदनशील विषयमा बोलेकै कारण आफूमाथि घेराबन्दी गरिएको प्रसाईंको जिकिर थियो।

प्रकाशित: ९ भाद्र २०८३ १९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App