नेपाली महिला तथा युवतीलाई विभिन्न प्रलोभन देखाएर भारत पुर्याई शोषण गर्ने गरेको विवरण सार्वजनिक भएपछि सरकारले घटनालाई गम्भीर रूपमा लिँदै छानबिन अघि बढाएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक भएका खोजमूलक समाचारलाई प्रारम्भिक सूचनाका रूपमा लिएर घटनाको सत्यतथ्य पत्ता लगाउने प्रक्रिया अघि बढाइएको जनाएको हो।
मन्त्रालयले असोज ४ गते जारी गरेको विज्ञप्तिमा घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयसँग समन्वय गरिसकिएको र सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई आवश्यक छानबिनका लागि निर्देशन दिइएको उल्लेख गरेको छ।
सार्वजनिक विवरणअनुसार नेपाली महिला तथा युवतीलाई झुटा आश्वासन, आकर्षक रोजगारी, विवाह, अध्ययन, मोडलिङ तथा मनोरञ्जनलगायतका अवसरको प्रलोभन देखाएर बिचौलियामार्फत भारत लैजाने र त्यहाँ शोषणमा पार्ने गरिएको आरोप छ। मन्त्रालयले यस्ता विवरणको वास्तविकता पत्ता लगाउन अनुसन्धान थालेको जनाएको छ।
बिचौलियादेखि सीमा नाकासम्म अनुसन्धान
मन्त्रालयका अनुसार छानबिन केवल घटनामा संलग्न व्यक्तिमा सीमित हुने छैन। सम्भावित बिचौलिया, संस्था, सीमा नाका, यात्राका माध्यम र त्यसमार्फत सञ्चालन भएको भनिएको सम्भावित आपराधिक सञ्जालसम्म अनुसन्धान विस्तार गरिनेछ।
त्यसका लागि आवश्यक प्रमाण संकलन, सम्भावित पीडितको पहिचान तथा संरक्षण र आरोपित व्यक्तिमाथि अनुसन्धानका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
यद्यपि, अहिलेसम्म पीडितको संख्या, आरोपितको पहिचान वा पक्राउसम्बन्धी कुनै विवरण मन्त्रालयले सार्वजनिक गरेको छैन।
‘सीमा पार गराएपछि नेपालको सरोकार सकिँदैन’
नेपाल–भारतको खुला सीमाको दुरुपयोग गरी महिला, युवती तथा बालबालिकालाई विभिन्न प्रलोभनमा सीमापार लैजाने र शोषण गर्ने गतिविधिमा संलग्नता पुष्टि भए कानुनअनुसार कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।
नेपाली नागरिकलाई सीमापार पुर्याउँदैमा नेपालको सरोकार समाप्त नहुने भन्दै मन्त्रालयले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू कानुनी कारबाहीबाट उम्कन नसक्ने जनाएको छ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले यस्ता गतिविधिलाई गम्भीर कसुरका रूपमा परिभाषित गरेको पनि मन्त्रालयले जनाएको छ।
उद्धारदेखि पुनर्स्थापनासम्म सरकारको जोड
मन्त्रालयले अनुसन्धान र दोषीमाथि कारबाहीसँगै सम्भावित पीडितको उद्धार, संरक्षण, सुरक्षित घरफिर्ती र पुनर्स्थापनालाई पनि प्राथमिकतामा राखेको जनाएको छ।
मानव बेचबिखन नियन्त्रणसम्बन्धी राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार पीडितको संरक्षण र अपराध नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ।
सामाजिक सञ्जालका ‘आकर्षक अफर’प्रति सतर्क रहन आग्रह
मन्त्रालयले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट आउने अस्वाभाविक रोजगारी, उच्च आम्दानी, विदेश यात्रा, विवाह, मोडलिङ तथा मनोरञ्जनसम्बन्धी आकर्षक प्रस्तावप्रति विशेष सतर्क रहन नागरिकलाई आग्रह गरेको छ।
वैदेशिक रोजगारी, अध्ययन वा यात्राका लागि जानुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको आधिकारिकता यकिन गर्न र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न मन्त्रालयले अनुरोध गरेको छ।
त्यस्तै, राहदानी, नागरिकता, बैंक विवरण तथा अन्य व्यक्तिगत कागजात अपरिचित व्यक्ति वा बिचौलियालाई सहजै उपलब्ध नगराउन पनि मन्त्रालयले सचेत गराएको छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा मानव बेचबिखन, जबर्जस्ती वा प्रलोभनमा लैजाने प्रयास तथा सीमापार शोषणसम्बन्धी सूचना तत्काल सम्बन्धित निकायलाई उपलब्ध गराउन आग्रह गरिएको छ।
यस्ता घटनाबारे नजिकको प्रहरी कार्यालय, सम्बन्धित सरकारी निकाय वा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जानकारी गराउन सकिने मन्त्रालयले जनाएको छ।
प्रकाशित: ४ आश्विन २०८३ १७:०३ आइतबार





