२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

पाँचथरमा बन्यो नेपालकै सबैभन्दा लामो मोड्युलर ब्रिज

मेची क्षेत्रको ‘लाइफ लाइन’ मानिने मेची राजमार्गअन्तर्गत पाँचथरमा नेपालकै लामो मोड्युलर ब्रिज निर्माण भएको छ । स्थानीय हेवाखोलाले पटक–पटक पुल बगाएपछि र निर्माणाधीन बेली ब्रिजसमेत भाँच्चिएपछि ५० मिटर लम्बाइको मोड्युलर ब्रिज निर्माण गरिएको हो । 

निर्माणको करिब सबै काम सकिएको र भारवहन परीक्षणसमेत सफल भइसकेको सडक विभागले जनाएको छ । विभागका अनुसार साउन १७ मा थालिएको निर्माण सकिए पनि एप्रोच सडक र सडक सुरक्षाका अन्य कार्य धमाधम छन् । अब बढीमा छ दिनभित्र सम्पूर्ण काम सकेर सवारी साधन चालु हुने सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । 

पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवाखोलामा २०८० असार २ को बाढीले पक्की पुल बगाएको थियो । त्यसपछि २०८१ असोज १२ को बाढीले ५० मिटरको बेली ब्रिजसमेत बगाएको थियो भने डाइभर्सन बनाएर हिउँदभर सवारी साधन चलाइएको थियो । पुनः यहाँ निर्माणाधीन ७० मिटरको मोड्युलर ब्रिज गत जेठ ३१ गते भाँच्चिँदा तीन कामदारको मृत्युसमेत भएको थियो भने थप तीन जना घाइते भएका थिए । 

त्यस दुर्घटनायता पुनः मोड्युलर ब्रिज निर्माण थालिएकामा पुरानो सामान झिकेपछि ११ दिनमै जडानको काम सकिएको डिभिजनले जनाएको छ । ‘यसपटक मोड्युलर ब्रिज बनाउन भारतले लन्चिङ सेट दिएको थियो भने १८ जनाको टोली पनि कामका लागि पठाएको थियो,’ डिभिजन प्रमुख भट्टराईले भने, ‘भाँच्चिएको पुलको सामान खोल्न चाहिँ निकै दिन मेहनत गर्नुपरेको थियो ।’

विभागले सम्भवतः इतिहासमै पहिलो पटक ‘अन द जब ट्रेनिङ अन मोड्युलर ब्रिज इन्स्टलेसन’ नामक १० दिने कार्यस्थलमा आधारित तालिम हेवाखोलामा गरेको जनाएको छ । पाँचथरमा विभागमा कार्यरत ३२ इन्जिनियर, सब–इन्जिनियर, मेकानिक र अपरेटरलाई तालिम प्रदान गरिएको र यसबाट सडक विभाग मोड्युलर/बेली ब्रिज जडानमा छिट्टै देश आत्मनिर्भर हुने अपेक्षा गरिएको विभागको भनाइ छ ।

यहाँ सवारी साधन अवरुद्ध हुँदा पाँचथरको ठुलो भू–भागसहित ताप्लेजुङ जिल्ला पूरै राष्ट्रिय यातायात सञ्जालबाट विच्छेद हुने जोखिम थियो । आफ्नो पूर्ण सामर्थ्य प्रयोग गरी यो अवधिमै पुल निर्माण कार्य सम्पन्न गरेको भन्दै विभागले दुर्घटनाबाट पाठ सिकिएकोसमेत उल्लेख गरेको छ ।

‘सडक विभागले निकट भविष्यमै यो ठाउँमा पक्की पुल बनाउने जानकारी आएको छ,’ भट्टराईले भने, ‘अहिले निर्माण भएको ब्रिजबाट तोकिएको क्षमताभन्दा बढी भार नतार्न पनि आग्रह छ ।’

प्रकाशित: ३० श्रावण २०८२ १७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App