१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

भारतले सफाइका लागि बाँध खोल्दा नेपालमा उच्च सतर्कता जारी

भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै त्यहाँको एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाले बुधबार (आज) बिहान ६ः०० बजेदेखि बिहीबार अपराह्न ६ः०० बजेसम्म सिल्ट सफाइका लागि बाँधका ढोका खोल्ने जानकारी गराएको जनाएको छ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार सिल्ट सफाइका कारण उक्त अवधिमा महाकाली नदीमा पानीको बहाव अत्यधिक बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको हो।

यसैबिच, सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले पनि एक विज्ञप्ति जारी गर्दै महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन निर्देशन दिएको छ। बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले नदी आसपासका बासिन्दा, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला सबैलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेका छन्। 

प्रकाशित: १३ श्रावण २०८३ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App