नेपाली सेनाले जिल्लाका ऐतहासिक तथा सामरिक महत्वका स्थानहरुलाई पैदल मार्गले जोड्ने भएको छ । सदरमुकाम गाईघाटस्थित पशुपतीप्रसाद गणले यही आउँदो २१ देखि २७ गतेसम्म जिल्लाको ऐतिहासिक गढीहरु उदयपुरगढी र चौदण्डीगढीसम्मको पदयात्रा सञ्चालन गर्न लागको हो ।
अघिल्लो वर्षदेखि सुरु भएको पदयात्रालाई निरन्तरता दिने क्रममा यसपालि पनि यात्रा गर्न लागेको गणले जनाएको छ । पदयात्रा सञ्चालनका लागि मङ्गलबार सरोकारवालाहरुसँग प्रारम्भीक चरणको छलफल गरेको छ । स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुसँग गरेको प्रारम्भिक समन्वय बैठक राखेर पदयात्राको कार्यक्रम तय गरेको उसले ज नाएको छ ।
जिल्लाका ऐतिहासिक गढी र किल्लाहरुको संरक्षण गर्दै इतिहासको सामरिक महत्व दर्शाउन पदयात्रा गर्ने गरेको गणपती प्रमुख सेनानी मनोज कार्कीले बताए । उनका अनुसार अघिल्लो वर्ष तत्कालीन गणपती शिव वाग्लेले सुरु गरेको पदयात्रालाई निरन्तरता दिन यसवर्ष पनि कार्यक्रम गर्न लागिएको हो ।
पुस २१ गते उदयपुरगढीबाट सुरु हुने पदयात्रा २७ गते चौदण्डीगढी पुगेर समापन हुने उनले बताए । यात्राको क्रममा सेनाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना अघि सारेको छ । ऐतिहासिक गढीहरुको संरक्षण, पर्यापर्यटनको विकास, नयाँ पुस्तालाई इतिहास, भुगोल र नैतिक शिक्षाबारे जानकारी गराउने गतिबिधिहरु इात्राको क्रममा हुने गणपति कार्कीले बताए ।
उदयपुरगढी गाउँपालिका ५ को उदयपुरगढीबाट सुरु हुने पदयात्रा उदयपुरगढी ४ डुम्रे, डुम्रे भञ्ज्याङ, द्वारे भञ्ज्याङ हुँदै रौतामाई गाउँपालिका ४ रानीबास, त्रियुगा नगरपालिका १४ साउने भएर चौदण्डीगढी नगरपालिका ८ वीरेन्द्र बजार हुँदै चौदण्डगढी १ को चौदण्डीगढी पुगेर समापन हुनेछ ।
७ दिन लामो यात्राको क्रममा सो क्षेत्रमा पर्ने विद्यालयमा कविता, निवन्ध, हाजिरी जवाफ, खेलकुदलगायत विभिन्न शैक्षिक गतिबिधि र प्रतियोगिताहरु सञ्चालन गर्ने कार्यक्रम तय भएको छ । त्यसका लागि आवश्यक व्यवस्थापन र बजेट सहयोग स्थानीयतहहरुले गर्ने योजना गणमा सम्पन्न समन्व बैठकले निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, उदयपुरगढी गाउँपालिका उपाध्यक्ष जितबहादुर खड्का, रौतामाई गाउँपालिका उपाध्यक्ष भुपेन्द्र थापा, सुरक्षा निकायका प्रमुखहरु, होटल तथा पर्यटन व्यवसायी, साईकलिङ सङ्घ, पत्रकारलगायत सहभागी बैठकले पदयात्रालाई थप आकर्षण दिन सेनाको ऐतिहासक कालो पोशाकमा सैनिकहरुलाई सहभागी गराउने निर्णय पनि गरेको छ ।
पदयात्रामा नेपाली सेनासँगै सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकार, स्थानिय नागरिकलगायतलाई सहभागी गराइने भएको छ । पदयात्रा भव्यरुपमा सफल बनाउन पनि सेनाले आग्रह गरेको छ । पदयात्रालाई थप व्यवस्थित गर्नका लागि विभिन्न चरणमा बैठक तथा प्रचारप्रसार कार्य थालिएको छ ।
प्रकाशित: २ पुस २०८२ १८:११ बुधबार





