१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

नेपाली सेनाद्वारा जुम्लामा निर्वाचन सुरक्षालक्षित जोखिम शिक्षा

सेनाद्वार निर्वाचन सुरक्षालक्षित जोखिम शिक्षा तस्बिर: नेपाली सेना

नेपाली सेनाले 'प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२' को सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै शंकास्पद वस्तुबाट उत्पन्न हुन सक्ने जोखिम, विस्फोटक पदार्थसम्बन्धी सम्भावित खतरा तथा स्थानीय तहमा आवश्यक विपद् प्रतिकार्य क्षमताको सुदृढीकरणका लागि बहुआयामिक तयारी अघि बढाएको छ।

निर्वाचनलाई शान्त, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने लक्ष्यसहित सेनाले सुरक्षाकर्मी मात्र नभई समुदायस्तरसम्म जोखिम सचेतना विस्तार गर्ने रणनीति अनुसार सचेतनामूलक कक्षा तथा अभ्यास सञ्चालन गरेको हो। निर्वाचनका समयमा देखिन सक्ने सुरक्षा चुनौतीहरू जस्तै शंकास्पद वस्तु फेला पर्नु, आगलागी, प्राकृतिक वा मानवजन्य विपद्लाई समयमै पहिचान गरी क्षति न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम डिजाइन गरिएको सेनाले जनाएको छ।

यसमार्फत सुरक्षाको अग्रपंक्तिमा खटिने निकायहरूबीच कार्यगत समन्वय मजबुत बनाउनुका साथै स्थानीय समुदायलाई समेत जिम्मेवार र सचेत साझेदारका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। सोही क्रममा बिहीबार जुम्लास्थित देवीदत्त गणले नेपाल प्रहरी र निर्वाचन प्रहरीसमेत गरी जम्मा ७९ जना शिक्षार्थीलाई सहभागी गराई विस्फोटक पदार्थ जोखिम शिक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक कक्षा तथा अभ्यास सञ्चालन गरेको हो। 

देवीदत्त गण जुम्लाका गणपति प्रमुख सेनानी धिरज थापाका अनुसार कक्षामा शंकास्पद वस्तु पहिचान गर्ने तरिका, तत्काल अपनाउनुपर्ने सावधानी, सुरक्षित दूरी कायम गर्ने अभ्यास, सूचना प्रवाहको सही विधि तथा आपत्कालीन अवस्थामा गरिनुपर्ने समन्वयात्मक प्रतिकार्यका विषयमा व्यवहारिक अभ्यास गराइएको थियो। उनले निर्वाचन अवधिमा एक सानो लापरबाहीले ठूलो मानवीय तथा भौतिक क्षति निम्त्याउन सक्ने भएकाले सुरक्षाकर्मीको तयारी व्यावहारिक, स्पष्ट र एकीकृत हुन आवश्यक रहेको बताए। सुरक्षाकर्मीलाई लक्षित कार्यक्रमसँगै सेनाले समुदायस्तरमै जोखिम न्यूनीकरणको चेतना फैलाउने उद्देश्यले विद्यालय केन्द्रित गतिविधिलाई समेत प्राथमिकतामा राखेको छ। 

निर्वाचन सुरक्षार्थ खडा गरिएका बेसहरूबाट जुम्लाका विभिन्न गाउँपालिकाका स्थानीय विद्यालयमा पुगेर विस्फोटक पदार्थ जोखिम शिक्षा र आगलागी नियन्त्रणसम्बन्धी कक्षा तथा अभ्यास सञ्चालन गरिएको हो। विद्यालय तहबाटै जोखिमबारे जानकारी दिँदा दीर्घकालीन रूपमा सुरक्षित व्यवहार विकास हुने सेनाको विश्वास छ। प्रमुख सेनानी थापाका अनुसार विद्यालय लक्षित कक्षा तथा अभ्यासमा आगलागीका प्रमुख कारण, प्रारम्भिक नियन्त्रणका उपाय, सुरक्षित निकासको प्रयोग, विपद्का बेला आत्म–सुरक्षा तथा सामूहिक सहयोग र अनुशासनको अभ्यास समेटिएको थियो। विद्यार्थीहरूलाई अभ्यासमै संलग्न गराई वास्तविक अवस्थाको अनुभूति दिलाइएकाले सिकाइ अझ प्रभावकारी भएको सेनाको निष्कर्ष छ।

कार्यक्रमअन्तर्गत जुम्लाको सिंजा–३ स्थित भैरव माध्यमिक विद्यालय नराकोटका ३ सय जना,  गुठिचौर गाउँपालिका–४ स्थित सत्यवादी माध्यमिक विद्यालयका ४० जना,  कनकासुन्दरी गाउँपालिका–५ स्थित माध्यमिक विद्यालय लड्कुका १ सय १५ जना,  तिला गाउँपालिका–८ स्थित देउराली माध्यमिक विद्यालय जुम्लाकोटका ७६ जना र तिलाकै गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय त्रिवेणीका १ सय ५० जना शिक्षक तथा विद्यार्थीले सचेतनामूलक कक्षा तथा अभ्यासमा सहभागिता जनाएका थिए।

सहभागीहरूले यस्ता अभ्यासले निर्वाचन मात्र होइन, दैनिक जीवनमा पनि जोखिम पहिचान गर्ने क्षमता बढाएको प्रतिक्रिया दिएका छन्। निर्वाचन सुरक्षा सुदृढ बनाउने,  सुरक्षाकर्मी र सर्वसाधारणबीच विश्वास र सहकार्य अभिवृद्धि गर्ने तथा समुदायस्तरमै जोखिम न्यूनीकरणसम्बन्धी दिगो चेतना विकास गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नेपाली सेनाले जनाएको छ।

सेनाले आगामी दिनमा अन्य स्थानीय तह र विद्यालयहरूमा समेत यस्ता अभ्यास विस्तार गर्ने तयारी गरिरहेको बताइएको छ।

प्रकाशित: १५ फाल्गुन २०८२ १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App