८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

जुम्लामा ज्येष्ठ महिलाको रहस्यमय मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका–४, साहुँबाडामा एक ७० वर्षीया ज्येष्ठ महिलाको रहस्यमय मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार स्थानीय महेश्वरा सुनार गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्। उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरी निरीक्षक निर्देश बरालका अनुसार सुनारको टाउको र आँखामा गहिरो चोट छ। उपचारका लागि ल्याइँदै गर्दा उनको बाटैमा मृत्यु भएको बरालले बताए। घटनाको प्रारम्भिक अनुसन्धानमा उनको शरीरमा धारिलो हतियार प्रयोग भएको पाइएको बरालको भनाइ छ।  

मृतकका आफन्त धिरबहादुर वडका अनुसार उनलाई गम्भीर घाइते अवस्थामा घरमा भेटिएकी उनलाई छिमेकीले घटना थाहा पाएपछि मात्र अस्पताल लगिएको हो। “टाउको मात्र नभई आँखामा समेत प्रहार गरिएको देखिन्छ,” उनले बताए।

घटना शंकास्पद रहेकाले सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न परिवारको माग छ।  

यसैबीच, प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको नेतृत्वमा टोली घटनास्थलतर्फ खटाइएको जानकारी दिएका छन्। “घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ,” उनले बताएका छन्।

प्रकाशित: ८ चैत्र २०८२ १६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App