म्याग्दीमा लगातार परेको वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएको छ। पहिरोका कारण क्षति पुगेका स्थानमा स्थानीय र प्रहरीको सहयोगमा उद्धार तथा राहत वितरणको काम भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
प्रहरीका अनुसार पहिरोमा परेका ६ जनाको शव फेला परेको छ भने ३ जना बेपत्ता छन्।
अन्नपूर्ण गाउँपालिका-८ काफलडाँडाका १९ वर्षीय सविन गर्बुजा, अन्नपूर्ण गाउँपालिका-३ फगामकी ५४ वर्षीया योमाया पाइजा, मालिका गाउँपालिका-३ डाँडागाउँका ३१ वर्षीय चिरण पुन, सोही स्थानका २८ वर्षीय देवबहादुर, अन्नपूर्ण गाउँपालिका-६ गिवाङकी ५ वर्षीया जेनी पुर्जा र अन्नपूर्ण गाउँपालिका-३ फगामकी ७५ वर्षीया शिलकुमारी गर्बुजाको शव फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, अन्नपूर्ण गाउँपालिका-६ गिवाङका ७५ वर्षीय ओमबहादुर तिलिजा, अन्नपूर्ण गाउँपालिका-८ काफलडाँडाका २१ वर्षीय मनोज गर्बुजा र बेनी नगरपालिका-३ भकिम्ली छेपारेकी कुमारी विक बेपत्ता रहेको प्रहरीले जनाएको छ। विज्ञप्तिमा मनोज गर्बुजाको अवस्था ‘नखुलेको’ उल्लेख गरिएको छ।
यसैबीच, नेपाली सेनाको हेलिकप्टरको सहयोगमा ७८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विभिन्न स्थानमा प्रहरी परिचालन गरी थप उद्धार तथा राहत वितरणको काम भइरहेको प्रहरीले बताएको छ।
पहिरोका कारण बेनी-जोमसोम र बेनी-दरबाङ सडक खण्डका विभिन्न स्थानमा यातायात आवागमन ठप्प भएको छ। सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०८३ ०७:१० सोमबार





