१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

सामाजिक सुरक्षा भत्ता नपाएपछि नगरपालिकामा ताला

बैंकले सामाजिक सुरक्षा भत्ता र बाल पोषण भत्ता उपलब्ध नगराएपछि स्थानीय सेवाग्राहीले नगरपालिकाको कार्यालयमा ताला लगाएका छन् । रौतहटको गुजरा नगरपालिकामा सेवाग्राहीहरूले आइतबार ताला लगाएका हुन् ।

रौतहटको गुजरा नगरपालिकाले सिमरा भवानीपुरमा रहेको एनआइसी एसिया बैङ्कको खातामा सेवाग्राहीको रकम निकासा पठाइसकेको तर बैंकले सेवाग्राहीलाई भत्ता उपलब्ध गराउन ढिलासुस्ती गरेको छ । बैंकले ढिलासुस्ती गरेपछि आक्रोशित सेवाग्राहीले नगरपालिकाको कार्यालयमा नै तालाबन्दी गरेका हुन् ।

गुजरा नगरपालिकामा ३,३०० ज्येष्ठ नागरिक र ५,४०० बालपोषण भत्ता पाउने सेवाग्राही रहेका छन् ।

गुजरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयनारायण देवकोटाले सेवाग्राहीले पाउनुपर्ने रकम बैङ्कको खातामा समयमा नै पठाइसकिएको तर बैंक प्रशासनले ढिलाइ गरेको गुनासो आएको बताएका छन् । बैंक प्रशासनले निरन्तर लापरबाही गरेपछि सेवाग्राही आक्रोशित भएको बताउँदै देवकोटाले सेवाग्राहीको समस्यालाई बैंकले बुझ्नुपर्ने बताएका छन् । गत असार ११ गते नै ज्येष्ठ नागरिकको लागि ५ करोड र बाल पोषण भत्ताको लागि ९४ लाख रुपैयाँ बैकमा दाखिला भइसकेको तर अहिलेसम्म सेवाग्राहीले नपाउँदा सेवाग्राही असन्तुष्ट बनेका हुन् ।

बैंकले सेवाग्राहीको रकम होल्ड गरेर लगानीकर्तालाई ब्याजमा उपलब्ध गराएको विभिन्न बहाना बनाउँदै सेवाग्राहीलाई रकम दिन आनाकानी गरेको स्थानीयको आरोप छ । हरेक दिन सेवाग्राही भत्ता लिन बैंक धाउँदा पनि बैंक जिम्मेवार बन्न सकेको छैन । भत्ताको रकम नपाउँदा सेवाग्राही मानसिक तथा आर्थिक तनावमा परेका छन् । कतिपयले नगरपालिकाले नै रकम नपठाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । स्थानीयवासीले नगरपालिकाले बैंकसँग समन्वय गरेर सेवाग्राहीले हातमा रकम पाउने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बैङ्कको खातामा समयमै रकम पठाइसकिएको र सेवाग्राहीलाई रकम उपलब्ध गराउने काम बैंक प्रशासनको भएको बताएका छ ।

बैंकका शाखा प्रबन्धक सदेउ परवेजले बैंकमा कर्मचारीको अभाव रहेको र तालिका प्रकाशनमा ढिलाइ भएको कारण सेवाग्राहीलाई रकम वितरण गर्न केही समस्या हुन गएको स्पष्ट पारेका छन् । सेवाग्राही आक्रोशित बनेपछि शाखा प्रबन्धक परवेजले समस्या समाधानको लागि शीघ्र प्रयास गर्ने जानकारी गराएका छन् ।

नगरपालिकाको कार्यालयमा ताला लगाएपछि प्रमुख प्रशासकीय अधिकृत देवकोटाले सेवाग्राहीलाई सम्झाइ बुझाइ गरेका छन् । देवकोटाले बैंक प्रशासनसित समन्वय गर्ने र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि सेवाग्राहीले करिब दुई घण्टापछि नगरपालिकामा लगाएको ताला खोलेका छन् ।

प्रकाशित: २५ श्रावण २०८२ १७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App