धादिङको बैरेनीलगायतका क्षेत्रमा सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ हुँदै काठमाडौंतर्फ जाने सबै प्रकारका सवारी साधनको आवागमनमा पूर्ण रोक लगाएको छ।
प्रशासनले बुधबार एक जरुरी सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि नारायणगढ-काठमाडौं सडकखण्डमा सवारी साधन सञ्चालन बन्द गरिएको जानकारी दिएको हो।
रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको बाढीका कारण धादिङको बैरेनीलगायतका स्थानमा राजमार्ग अवरुद्ध भएको छ। प्राविधिक निकायहरूबाट प्राप्त जानकारीअनुसार सडकको अवरोध हटाउन केही समय लाग्ने देखिएकाले यात्रुहरूको सुरक्षालाई ध्यानमा राखी सवारी साधन रोकिएको हो।
बाढी-पहिरोको जोखिम पूर्ण रूपमा नहटेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न प्रशासनले अपिल गरेको छ।
प्रकाशित: १० भाद्र २०८३ १९:१९ बुधबार





