१० भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन: राहतमा राज्यका सबै संयन्त्र परिचालन गर्न आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार र राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन्।

बुधबार साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गर्दै राष्ट्रपति पौडेलले बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन्।

उनले विपद्‌मा परेका नागरिकको जीवन रक्षा, खोजी तथा राहत कार्यलाई थप तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

संवादका क्रममा प्रधानमन्त्री शाहले बाढीले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिको विवरणबारे राष्ट्रपतिलाई अवगत गराएका थिए।

प्रधानमन्त्री शाहले प्रभावितहरूको उद्धार, स्वास्थ्य उपचार र राहतका लागि राज्यका सबै सुरक्षा तथा प्रशासनिक अंगहरू परिचालन गरिएको र सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका थिए।

यसअघि राष्ट्रपति पौडेलले भोटेकोशीको आकस्मिक बाढीबाट भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकाय र आम नागरिकलाई एकजुट हुन आह्वान गरेका थिए।

उनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउनसमेत अपिल गरेका छन्।

प्रकाशित: १० भाद्र २०८३ २०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App