२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

घोप्टे भिरको भित्तो काटियो

पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो काट्ने काम सम्पन्न भएको छ। छ दिन रातको समयमा सडक आवागमन बन्द गरेर भित्तो काट्ने काम गरिएको हो।  

नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार घोप्टे भिरको दुई सय ५० मिटर लामो सडकको छेउको भित्तो काटिएको हो । यहाँ करिब ५० मिटर माथिबाट भित्तो काटेर सडक थप चार मिटर फराकिलो बनाइएको छ । भित्तो काटिएसँगै अब सडक १२ मिटर फराकिलो भएको छ ।

यही चैत १७ देखि २२ गतेसम्म राति १०ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सडक आवागमन रोकेर काम गरिएको थियो । त्यस क्रममा तीन वटा एक्साभेटर, दुई वटा लोडर, १० वटा टिप्पर र सोही अनुपातमा जनशक्ति परिचालन गरिएको सूचना अधिकारी मिश्रले बताए । यस्तै, मनकामना केबुलकारबाट रमाइलो डाँडा जाने सडकको बीच भागमा पर्ने अर्को एक भित्तो काट्ने काम आधा सकिएको र यहाँ ७० मिटर सडक छेउको भित्तो काटेर विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।  

एकैपटक लामो समय सडक रोक्न गाह्रो हुने भएकाले थप भित्तो काट्ने काम सकिएपछि यहाँ पनि काम गरिने मिश्रको भनाइ छ । समग्रमा यहाँ सडक विस्तारको काम ४१ प्रतिशत सम्पन्न भएको छ । हाल कालोपत्र गर्ने, कालोपत्रको तयारी, नाला बनाउने, पर्खाल लगाउने जस्ता काम भइरहेका उनले बताए ।  

विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडकको ठेक्का सम्झौता भएको थियो । समयमा काम नसकिएपछि छ महिना म्याद थप गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरणमा बोलपत्र आह्वान गरिएको हो ।  -रासस

प्रकाशित: २४ चैत्र २०८२ १६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App