२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

भक्तपुरको विस्का जात्राः जुत्ता लगाएर रथमा चढ्न नपाइने

चैत २७ गते सुरु हुने भक्तपुरको विस्का जत्रालाई सम्य, भव्य र व्यवस्थित पार्न भैरबनाथको रथमाथि जुत्ता लगाएकाहरुलाई नचढाउने निर्णय भएको छ । जात्रालाई व्यवस्थित पार्ने विषयमा भक्तपुर नगरपालिकाको आयोजनामा बिस्का जात्रा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सरोकारवालाहरूको मंगलबारका बैठकमा यसो हुन सके जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास गरियो ।

जात्राको क्रममा दिउँंसो ३ बजे भैरबनाथको रथ तान्ने कार्यतालिका सार्वजनिक गरिएको छ । न्यातापोल (पाँंचतल्ले) मन्दिर परिसरमा राखेर बनाइएको रथलाई डोरीको सहायताले तानेर जात्रा सुरु हुने गर्दछ । रथ तान्ने क्रममा रथ अगाडि भैरबनाइकेले ‘हसे..’ भनेर डोरीबाट रथ तान्नेहरुलाई ताल दिइन्छ । त्यसपछि रथ तान्नेहरुले ‘हैसे..’ भनेर बल विलाएर रथ तान्ने गरिन्छ ।

यो क्रममा रथमाथि भैरब नाइकेसहित दर्जनौ युवाहरु चढ्ने गर्दछन् । यही हुलहुज्जतका कारण पनि जात्राका क्रममा झैझगडा सुरु हुने गर्दै आएको छ । रथमा चढनेहरु जुता विहीन हुनुपर्ने नियम लागू गर्न सके रथमा चढनेहरुको संख्या कम हुने र झगडाको विउ नै नहुने बैठकको निष्कर्ष थियो । यसकारण झैझगडा हुन नदिन रथ माथि चढ्न जुताविहीन हुनुपर्ने तर्क बैठकमा गरिएको थियो । देवतामाथि चढ्दा जुता लगाएर चढ्न नहुने तर्क वैठकमा राखिएको थियो ।

भक्तपुरका विस्का जात्राको पहिलो दिन चैत २७ गते डोरीको सहायताले काठैकाठले प्यागोडा शैलिमा बनाइएको करिव ३५ फिट अग्लो तीन तल्ले रथलाई तान्ने गरिन्छ । काठको चारपांग्रे रथलाई जात्राको पहिलो दिन भक्तपुर नगरको वीच भाग मानिने न्यातापोल मन्दिर परिसरबाट तलतिर तानेर लाने गरिन्छ, जसलाई स्थानीय नेपाल भाषामा द्यो क्वय विज्याइगू (देवता तल सवारी हुने) भनिन्छ ।

देवता (भैरबनाथको रथ) लाई तल तिर तानेर लाने भए पनि लाने क्रममा पछाडि पनि फर्काउनुपर्ने हुनसक्छ । त्यसकार रथको दुवैतिर डोरी हाल्ने गरिन्छ । तर नियम अनुसार एकातिर मात्रै नतानी दुवैतिर प्रतिस्पर्धाको आधारमा हजारौले रथ तान्दा झैझगडा हुने गर्दछ ।

बैठकमा ऐतिहासिक तथा साँस्कृतिक विस्का जात्रा मर्यादित र भव्य रुपमा सम्पन्न गर्न सरोकारवाला संघ संस्थाहरुबाट हालसम्म भए गरेका तयारीबारे छलफल गरियो । साथै बिस्का जात्रा मर्यादित र भव्य रुपमा सम्पन्न गर्न गुठी संस्थान भक्तपुरबाट तयार पारेको कार्य तालिका अनुसार चैत्र २७ गते दिनको ३ः०० बजे भैरवनाथको रथ तानी जात्रा शुरु गर्ने र साँझ ६ः०० बजे सम्पन्न गर्न सम्बन्धित सबैले आ–आफ्नो जिम्मवारीका पूजा–आजा, भजनलगायत सम्पूर्ण गतिविधि समयमै सम्पन्न गर्ने निर्णय गरियो । 

साथसाथै बिस्का जात्रा व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न चैत्र २७ गते र २०८३ बैशाख ५ गते भैरवनाथको रथ पूर्वमा सुकुलढोका बुलबुल हिटीसम्म र पश्चिममा नासमनासम्म मात्र लान सम्पूर्ण जनसमुदायमा अनुरोध गर्ने निर्णय गरियो । साथसाथै बिस्का जात्रालाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न जनसमुदायमा अनुरोध गर्दै भक्तपुर नगरपालिकाबाट बिस्काजात्रा सम्बन्धी पर्चा वितरण गर्ने निर्णय गरियो । साथै भक्तपुरको प्रसिद्ध बिस्का जात्रा र नयाँ वर्ष २०८३ सम्बन्धी शुभकामना याली र सभा चैत २७ गते भक्तपुर नगरको पूर्व र पश्चिममाबाट सुरु गरी न्यातापोल मन्दिर परिसरमा आइ सभामा परिणत गर्ने निर्णय गरियो ।

प्रकाशित: २४ चैत्र २०८२ १७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App