४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

जेन-जी प्रदर्शनका सहिद परिवार र घाइतेलाई एमआरआरको सहयोग

जेन-जी प्रदर्शनका क्रममा सहिद भएका झापाको अर्जुनधारा निवासी दिनेश राजवंशीको परिवारलाई मेन्स रुम रिलोडेड (एमआरआर) टिमले ५० हजार आर्थिक सहयोग गरेको छ।

गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा सहिद भएका राजवंशीको परिवारलाई ५० हजार सहयोगसहित प्रदर्शनमा घाइते भएका अन्य नौ जनालाई एमआरआरले आर्थिक सहयोग गरेको हो।

प्रदर्शनका क्रममा घाइते भएकामध्ये आठ जनाको परिवारलाई उपचार खर्चस्वरुप ३० हजारका दरले सहयोग तथा एक जना घाइतेलाई २० हजार प्रदान गरिएको एमआरआर झापाका कार्यक्रम संयोजक शरद जोशीले जानकारी दिए।

एमआरआर टिम कोरियाका सुजन उप्रेतीको संयोजनमा बनेको उल्लेख गर्दै उनले त्यहाँ रहने नेपालीद्वारा सङ्कलित रकम सहिद तथा घाइतेको परिवारलाई प्रदान गरिएको सुनाए।

उनका अनुसार एमआरआर टिम कोरियाले झापाका सहिद तथा घाइते परिवारलाई तीन लाख २० हजार वितरण गरेको छ।

आज बिर्तामोड-५ का सुनिल तामाङलाई आर्थिक सहयोग गर्दै एमआरआर कोरियाले पहिलो चरणको कार्यक्रम सम्पन्न गरिएको बताउँदै दसैंलगत्तै दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।

रकम हस्तान्तरण कार्यक्रममा एमआरआर झापाका सदस्य विपिन आचार्य र दिवाकर गुरुङ सहभागी थिए। कोरियाको समन्वयमा एमआरआर टिमले गरेको सहयोग कार्यक्रमका बारेमा जानकारी दिँदै कार्यक्रम संयोजक जोशीले प्रदर्शनका क्रममा घाइते भएकालाई आफूहरूले अस्पतालमा पुगेर सहयोग रकम प्रदान गरेको बताए।

अस्पतालबाट घर पठाइएकालाई समेत घर-घरमा पुगेर आर्थिक सहयोग गरिएको उनको भनाइ छ। सहिद राजवंशीलाई ५० हजार, गोली लागेर घाइते भएका सुमित शाहलाई २० हजार सहयोग गरेको छ, भने अन्य सबै घाइतेको उपचारका लागि जनही ३० हजारका दरले आर्थिक सहयोग गरिएको एमआरआरले जनाएको छ।

एमआरआरले सुसान रनापहेँली, रिजन दाहाल, राजेश पोर्टेल, सुरेश खड्का, मस्ताकिन मियाँ, अनित तामाङ, सुनिल तामाङ र विवेक दुनुवारलाई आर्थिक सहयोग गरेको हो। कोरियाबाट प्राप्त रकमको कुनै पनि अंश व्यवस्थापन वा अन्य शीर्षकमा खर्च नगरिएको कार्यक्रम संयोजक जोशीले जनाए।

प्रदर्शनका क्रममा सहिद वा घाइते भएका अन्य कोही व्यक्तिको परिवारलाई आर्थिक सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गर्नसमेत उनले अनुरोध गरे। एमआरआर टिम कोरियाले झापासहित देशका अन्य जिल्लामा पनि सहयोग रकम वितरण गरेको जनाएको छ।

प्रकाशित: ११ आश्विन २०८२ १८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App