कपिलवस्तुको जगदशीपुर–बनगाई सडकअन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित जगदीशपुरमा मोटरसाइकललाई नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन्।
शुक्रबार राति भएको सो दुर्घटनामा जगदीशपुरबाट बनगाई जाँदै गरेको लु २० प ९४५२ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो। बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका रमेश आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।
दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि चार नम्बरको सामुदायिक अस्पतालमा लगिएको थियो। आचार्यको उपचारको क्रममा मृत्यु भएको थियो। गम्भीर घाइते भएका सुजन सुनारको बुटवलस्थित सनराइज इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए। ठक्कर दिने सवारी साधनको खोजी भइरहेको उनले बताए।
प्रकाशित: १ कार्तिक २०८२ १३:१२ शनिबार





