५ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

लागुऔषध कारोबारविरुद्ध प्रहरी अभियान : १७ सय बढी पक्राउ

लागुऔषध कारोबारविरुद्ध प्रहरी अभियान गत आर्थिक वर्षमा तीव्र थियो। एक वर्षको अवधिमा नौ सय ९३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता हुँदा एक हजार सात सय ६८ जना पक्राउ परे। पक्राउ परेकामध्ये एक हजार तीन सय २५ जनाविरुद्ध अभियोग दर्ता गरी अदालतमा पेस गरिएकोमा एक हजार एक सय १३ जना अर्थात् ८४ प्रतिशत प्रतिवादी पुर्पक्षका लागि थुनामा गएको लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकले देखाएको छ। यसमा दुई सय १२ जना भने धरौटीमा छुटेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आव २०८१/०८२ को तुलनामा पक्राउ पर्ने व्यक्तिको संख्या ५.५५ प्रतिशतले वृद्धि भएको छ। यसले लागुऔषध कारोबार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको भए पनि प्रहरीको निगरानी र कारबाही थप प्रभावकारी भएको संकेत गरेको छ।

लागुऔषध कारोबारबाट आर्जन भएको आशंकामा प्रहरीले एक करोड १३ लाख ५४ हजार ६ सय ९४ रुपैयाँ नगदसमेत बरामद गरेको छ।

यस्तै कारोबारमा प्रयोग भएका एक सय १५ वटा डिजिटल तराजु, सात सय ५७ वटा मोबाइल फोन, १५ वटा चारपांग्रे तथा ८३ वटा दुईपांग्रे सवारीसाधन नियन्त्रणमा लिइएको छ। लागुऔषध कारोबारीको सञ्जाल केवल तस्करीमै सीमित नरहेको तथ्य पनि प्रहरीको बरामद सूचीले देखाएको छ।

कारबाहीका क्रममा पाँच नाल पेस्तोल र २९ राउन्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ। यसले लागुऔषध कारोबार संगठित अपराध र हतियारको प्रयोगसँग समेत जोडिएको संकेत गरेको छ।

लागुऔषध मुद्दामा अदालतले पनि कडा दृष्टिकोण अपनाएको देखिएको छ। अभियोगसहित अदालत पुगेका प्रतिवादीमध्ये ८४ प्रतिशत पुर्पक्षका लागि थुनामा जानुले अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेका प्रमाण बलियो रहेको र अदालतले लागुऔषध अपराधलाई गम्भीर रूपमा लिएको देखाउँछ।

नेपालमा लागुऔषध कारोबार अझै संगठित रूपमा फैलिने प्रयास भए पनि प्रहरीको निगरानी, अनुसन्धान र कारबाही क्षमता पनि विस्तार भएको पाइएको छ।

विशेषगरी उच्च मूल्यको कोकेन ठूलो परिमाणमा बरामद हुनु नेपाल अन्तर्राष्ट्रिय लागुऔषध तस्करीको ट्रान्जिट मार्गका रूपमा प्रयोग हुन सक्ने जोखिम अझै कायम रहेको संकेत गर्दछ। लागुऔषधमा पक्राउ संख्या बढ्नुले अब नेपालमा लागुऔषधको माग घटाउने, युवालाई दुव्र्यसनबाट जोगाउने, सीमानाकामा निगरानी सुदृढ गर्ने र अन्तरदेशीय तस्करी सञ्जालमाथि संयुक्त कारबाही प्रभावकारी बनाउनुपर्ने देखिन्छ।  

प्रकाशित: ५ भाद्र २०८३ १०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App