२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

नागरिकताभन्दा राहदानी बनाउने धेरै

झापामा नागरिकता प्रमाणपत्रभन्दा राहदानी प्रमाणपत्र लिनेको संख्या धेरै छ। जिल्ला प्रशासन कार्यालयसहित दमक र गौरीगञ्जको इलाका प्रशासन कार्यालयबाट नागरिकता र राहदानी वितरण हुँदै आएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अनुसार साउनमा झापामा एक हजार २८९ जनालाई नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको छ। जबकि सोही महिनामा दुई हजार ३३३ जनालाई राहदानी प्रमाणपत्र वितरण भएको छ।

नागरिकतामध्ये वंशजको आधारमा लिनेहरू एक हजार २३० जना छन् भने वैवाहिक अंगीकृत ५५ जनाले र गैरआवासीय नागरिकता चार जनाले लिएको निरौलाले बताएका छन्। गत एक वर्षको तथ्यांकले समेत नागरिकताको तुलनामा राहदानी लिनेहरू धेरै रहेको देखाउँछ। आर्थिक वर्ष २०८१÷८२ मा झापामा २२ हजार ७७७ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको थियो।

सोही आवमा झापाबाट राहदानी प्रमाणपत्र लिनेको संख्या ३३ हजार २२४ पुगेको सहायक प्रजिअ निरौलाले जानकारी दिएका छन्। गत वर्ष नागरिकताको तुलनामा राहदानी लिनेहरू १० हजार ४४७ ले बढी थिए। उक्त आवमा वंशजको आधारमा २२ हजार ४० जनाले, वैवाहिक अंगीकृतको आधारमा छ सय ७५ जनाले र गैरआवासीयको आधारमा ६२ जनाले नेपाली नागरिकता प्रमाणपत्र लिएको पाइएको छ।

नागरिकता र राहदानीको तुलनामा राष्ट्रिय परिचयपत्रको कार्ड लिनेहरू अझ धेरै छन्। साउनमा झापामा पाँच हजार ७६७ जनालाई राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिएको छ। साउन मसान्तसम्म झापामा तीन लाख ६० हजार ७७२ जनाले राष्ट्रिय परिचयपत्रको कार्ड लिइसकेको सहायक प्रजिअ निरौलाले जानकारी दिएका छन्। रासस

प्रकाशित: १० भाद्र २०८२ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App