ताप्लेजुङमा चालु आर्थिक वर्षको पछिल्लो दुई महिनामा नागरिकताभन्दा बढी नागरिकताको प्रतिलिपि जारी भएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार साउन र भदौ महिनामा ६ सय २० थान नागरिकताको प्रतिलिपि जारी भएको छ।
उक्त दुई महिनाको अवधिमा ४ सय ८९ थान नागरिकता जारी भएका छन्। सहायक प्रजिअ खड्काका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा जन्मका सन्तानलाई वंशजका आधारमा दिइने नागरिकता, वैवाहिक अंगीकृत नागरिकता र गैर आवासीय नेपाली नागरिकता जारी भएका छैनन्।
प्रशासन कार्यालयले भदौ महिनामा २ सय २७ र साउन महिनामा २ सय ६२ थान वंशजका आधारमा दिइने नागरिकता जारी गरेको छ। नागरिकताको प्रतिलिपि भने भदौ महिनामा २ सय ९७ थान र साउन महिनामा ३ सय २३ थान जारी भएको प्रशासन कार्यालयले जनाएको छ। चालु आवको भदौ मसान्तसम्ममा ४ सय ३१ थान राहदानीको सिफारिस जारी भएको छ।
जारी भएकामध्ये ४ सय १३ थान साधारण र १८ थान द्रुत सिफारिस भएको छ। चालु आवमा अहिलेसम्म ४ सय ७२ थान राहदानी वितरण भएको समेत प्रशासन कार्यालयले जनाएको छ। चालु आवको साउन र भदौ महिनामा ताप्लेजुङमा भ्रष्टाचार मुद्दा, नाफाखोर मुद्दा र अन्य मुद्दा परेनन् भने अभद्र व्यवहारका ६ वटा मुद्दा परेकोमा प्रशासन कार्यालयले २ वटा मुद्दा फर्स्योट गरेको छ। चालु आवको दुई महिनामा २ हजार ५ सय ५० जनाले राष्ट्रिय परिचयपत्रमा आफ्नो विवरण दर्ता गरेका छन् भने ५५ जनाले राष्ट्रिय परिचयपत्रको विवरण सच्याएका छन्।
राष्ट्रिय परिचयपत्रको रुजु फाराम हराएका ३ सय ९३ जनाले उक्त विवरणको खोजीका लागि सम्पर्क गरेको समेत प्रशासन कार्यालयले जनाएको छ। भदौ महिनामा प्रशासन कार्यालयले २ सय ७ जना राहदानीको अनलाइन फाराम निःशुल्क रूपमा भरिदिएको छ भने ३ सय ७४ जना सेवाग्राहीले कार्यालय प्रयोजनमा चाहिने आवश्यक कागजातको फोटोकपी तथा कागजातको निःशुल्क सुविधा पाएका छन्।
प्रकाशित: ८ आश्विन २०८२ १३:४३ बुधबार





