जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँका अवसरमा मनसुनको अवस्था समेटेर आज दसैँ विशेष मौसम बुलेटिन जारी गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट बहिर्गमन भइसकेको छैन।
हालको मौसम विश्लेषण अनुसार यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने आज साँझ जारी विशेष बुलेटिनमा उल्लेख छ। नेपालमा सरदरमा अक्टोबर २ तारिखमा मनुसन बहिर्गमन हुने भए पनि प्रत्येक वर्ष सो मिति भने फरकफरक हुने विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए।
यही असोज १४ (अष्टमी) का दिन बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। असोज १५ (नवमी) का दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कायस्थले जानकारी दिए।
उनका अनुसार असोज १६ (दशमी) का दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा साथै मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस वर्षको दसैँको अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भएकाले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको विभागका सूचना अधिकारी कायस्थले बताए। उनले विभागबाट जारी हुने सूचना अध्यावधिक गरी आवश्यक काम कारबाही गर्न अनुरोध गरे।
प्रकाशित: ११ आश्विन २०८२ २१:४८ शनिबार





