१५ असार २०८३ सोमबार
image/svg+xml
समाज

मनसुनजन्य जाेखिम: कोसीमा एकीकृत व्यवस्थापन तयारी

कोसी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि एकीकृत तयारी थालेको छ। कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमले कोसी सरकारले संघ र स्थानीय तहसँग सहकार्य गर्दै विपद् व्यवस्थापनका लागि एकीकृत तयारी थालेको जानकारी दिए।

उनका अनुसार प्रदेश सरकारसँग सबै खालका विपद्को व्यवस्थापनका लागि पर्याप्त स्रोत, साधन नभएकाले संघ र स्थानीय तहसँग सहकार्य गर्दै एकीकृत रूपमा काम गरिने बताए।

‘प्रदेश सरकारले मात्रै विपद् व्यवस्थापनको काम गर्न सक्दैन,’ उनले भने, ‘त्यसैले संघ र स्थानीय तहहरूसँग मिलेर काम गर्न लागिएको हो।’

एकीकृत रूपमा काम गर्दा विपद् व्यवस्थापन दोहोरोपन नहुने र आवश्यकताको पहिचान गरेर तत्कालै उद्धार र राहतको व्यवस्थापन गर्न सकिने गौतमले बताए। चारै वटा सुृरक्षा निकाय र कोसी प्रदेशका सबै मन्त्रालयका सचिवहरूको सहभागितामा जेठ २६ गते बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद्को तयारी, उद्धार तथा राहतको प्रबन्धका विषयमा छलफल गरिएको गौतमले जानकारी दिए। ‘सबै निकायसँग छलफल गरेर विपद्का समयमा आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयारी अवस्थामा राख्ने, थप सामग्री खरिदका लागि प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको थियो,’ उनले भने।

सोहीनिर्णयअनुसार रबरबोट, त्रिपाललगायत तत्काल उद्धारका सामग्री खरिद प्रक्रिया पनि सुरु गरिएको उनले बताए। उनका अनुसार एकीकृत रूपमा विपद्को सामना गर्न कोसीमा युनिफाइड कमान्डसमेत बनाइएको छ। बैठकले क्षति न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने निर्णय पनि गरेको थियो।

यस्तै प्रदेश विपद् व्यवस्थापन रणनीतिक कार्ययोजना २०८२–८७ र मनसुन पूर्वतयारी प्रतिकार्य प्रदेश कार्ययोजना २०८२ पारित गरेको थियो। यस्तै चालु आर्थिक वर्षदेखि नै कोसी प्रदेशमा विपद्ले क्षति पुगेका पूर्वाधारको तत्काल पुनर्निर्माण गर्न कोषको स्थापना पनि गरिएको छ। कोसी प्रदेश सरकार विपद् आएको खण्डमा विपद् व्यवस्थापनका लागि तम्तयार अवस्थामा रहेको राज्यमन्त्री गौतमले स्पष्ट पारे।

बर्खा नलाग्दै बाढीपहिरोको कहर

कोसी प्रदेशमा बर्खा नलाग्दै बाढीपहिरोलगायत विपद्का घटनामा धनजनको ठुलो क्षति भएको छ। मनसुन सक्रिय नहुँदै कोसीका विभिन्न जिल्लामा वैशाखदेखि असारको १० गते सम्म साढे १३ करोड रुपैयाँभन्दा बढीको भौतिक सम्पत्तिमा विपद्जन्य घटनाका कारण क्षति पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोसी प्रदेशको तथ्यांकले देखाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो तीन महिनाको अवधिमा बाढीबाट तीन जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन्। कोसीका विभिन्न जिल्लाका आठ वटा हाइड्रो पावरमा बाढीले क्षति पु¥याएको छ। पहिरोमा परेर एक जना घाइते भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यो अवधिमा पानीमा डुबेर १९ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बर्खा नलाग्दै आएको बाढीपहिरोका कारण पूर्वी पहाडी जिल्लाका विभिन्न स्थानमा सडकहरू अवरुद्धसमेत भएका थिए।  

प्रकाशित: १५ असार २०८३ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App