जिल्ला अनुगमन समिति ताप्लेजुङले फुङलिङ बजारका ग्याँस बिक्री गर्ने पसलहरुको अनुगमन गरी मौज्दात संख्या र बिक्री दर बारे जानकारी लिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईको संयोजकत्वमा फुङलिङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङ उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च र पत्रकार महासंघका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको हो।
सहायक प्रजिअ भट्टराईले बजारमा पूरै भरिएको सिलिन्डर आउन थालेपछि अनुगमन गरिएको बताए। समितिले ग्याँसको तौल समेत नाप जाँच गरेको थियो।
खाना पकाउने ग्याँसको अभाव हुन थालेपछि नेपाल आयल निगमले आधा भरिएको सिलिन्डर बजारमा ल्याएको थियो। आधा भरिएको सिलिन्डरको मूल्य प्रतिगोटा १ हजार ३ सय रुपैयाँ निर्धारण गरिए पनि पछि पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण केही थपघट भएको थियो।
फुङलिङमा आधा भरिएको सिलिन्डर भनेजस्तो बिक्रीमा नआएको व्यवसायीले बताएका छन्। बजारमा अहिले पूरै भरिएको सिलिन्डरको मूल्य २ हजार ५ सय ५० रुपैयाँ पर्न जाने ताप्लेजुङ उद्योग वाणिज्य संघले जनाएको छ।
अनुगमन समितिले व्यवसायीले ल्याएको पछिल्लो ग्याँसको परिमाण र बिक्री खाता समेत खोजेको छ। बजारमा कृत्रिम अभाव हुन नदिन तथा प्रचलित दररेट भन्दा बढी मूल्य लिन नपाउने व्यावसायिक मापदण्डको पूर्ण पालनामा लागि अनुगमन समितिले सूक्ष्म अनुगमनलाई समेत निरन्तरता दिने सहायक प्रजिअ भट्टराईले जानकारी दिए।
अनुगमन समितिले कसैले प्रचलित दररेट भन्दा बढी मूल्य लिएको पाइए वा ग्याँस सहितका उपभोग्य सामग्री भईकन समेत कसैले लुकाएर राखेमा प्रहरी प्रशासन सहितका निकायमा खबर गर्न र त्यसो गरेको पाइएमा कारबाही हुने समेत बताएको छ।
जिल्ला प्रशासन कार्यालयले उपभोक्तालाई समेत आवश्यकता भन्दा बढी उपभोग्य सामग्री भण्डार नगर्न आग्रह समेत गरेको छ। जिल्ला प्रशासन कार्यालयले उपभोग्य सामग्रीको कालोबजारी तथा कृत्रिम अभाव सृजना हुन नदिन नियमित रूपले सूक्ष्म अनुगमन गर्ने समेत जनाएको छ।
यसैबिच भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङको अगुवाइ तथा सहायक प्रजिअ भट्टराईको नेतृत्वमा यहाँका माछा तथा मासुजन्य व्यवसायको अनुगमन गरी दर्ता तथा नवीकरण, सरसफाइ र बिक्री मूल्य सहितका प्रक्रियाको बारेमा जानकारी लिएको केन्द्रका प्रमुख डाक्टर रोशन दाहालले जानकारी दिए।
प्रकाशित: २३ वैशाख २०८३ ०९:०२ बुधबार





