ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ५० प्रतिशत अनुदानमा पालिकाका किसानलाई मिनी ट्रिलर प्रदान गर्ने भएको छ।
पालिकाले पालिकाका ५ वटै वडामा ५० प्रतिशत अनुदानमा अलैंची खेति प्रवर्द्धन तथा क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गर्ने भएको छ भने वडा नं १ र २ मा कफी खेति विस्तार कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितनारायण यादवका अनुसार वडा नं ५ पापुङ बाहेक वडा नं १, २, ३ र ४ मा भने सुन्तला खेति प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागिएको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवका अनुसार संघीय सर्शत अनुदान कार्यक्रममार्फत सुन्तला खेति प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने भएको छ।
यस्तै कोशी प्रदेश सरकारको सर्शत अनुदानमा ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रम हुने गरी कफी क्षेत्र विस्तार तथा प्रवर्द्धन कार्यक्रम सुरु गर्न लागिएको हो। अलैंची खेति प्रवर्द्धन तथा क्षेत्र विस्तार कार्यक्रम पनि कोशी प्रदेश सरकारमार्फत किसानको ५० प्रतिशत लागत साझेदारीमा सञ्चालन गर्न लागिएको हो।
मागमा आधारित कृषि उपकरण कार्यक्रममा समेत किसानको ५० प्रतिशत लागत साझेदारी रहने गरी कोशी प्रदेश सरकार मातहतकै कार्यक्रम हुन लागेको मिक्वाखोला गाउँपालिकाले जनाएको छ।
प्रकाशित: ३० पुस २०८२ ११:४५ बुधबार





