९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

नेपाल आउने पर्यटकले धमाधम बुकिङ रद्द गर्न थाले, मारमा पर्यटन व्यवसायी

मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा देखिएको छ। हवाई यात्रा महँगो र असुरक्षित भएपछि  नेपाल घुम्न आउन लागेका धेरै पर्यटकले यात्रा रद्द गरेका छन्।  

भारत, चीन र अष्ट्रेलियाबाहेकका देशबाट यहाँको सौराहा क्षेत्रमा घुम्न आउने पर्यटकले यात्रा रद्द गरेको व्यवसायीहरू बताउँछन्। विगतका वर्षमा यतिबेला सौराहाका होटलहरू ८० प्रतिशत हाराहारी भरिने गरेको व्यवसायी बताउँछन्। उनीहरूको भनाइमा यस वर्ष यतिबेला २० प्रतिशत हाराहारी मात्र पर्यटक आएका छन्। निर्वाचनका कारण १५ दिन प्रभावित बनेको सौराहाको पर्यटन क्षेत्रमा त्यसलगत्तै मध्यपूर्वको द्वन्द्वको प्रभाव परेको हो।

 क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताए। विगतका वर्षहरूमा यतिबेला होटलका ८० प्रतिशत कोठा भरिने गरेको भन्दै उनले यस वर्ष २० प्रतिशत हाराहारी मात्र कोठा भरेको जानकारी दिए। उनले भने, 'द्वन्द्व भएका मुलुक बाहेकका देशहरूबाट पनि पर्यटकहरूले बुकिङ रद्द गरेका छन् ।' 

यो बेलामा चितवन राष्ट्रिय निकुञ्जमा ढड्डीहरू फाँडेर टाढासम्म देखिने भएकाले सजिलै वन्यजन्तु हेर्न सकिन्छ। “ठूला एजेन्सीहरूले अधिकांश बुकिङ रद्द गरेका छन्', उनले भने, 'आकाश असुरक्षित भएपछि को घुम्न आउँछ र?'

सङ्घका उपाध्यक्ष गुणराज थपलियाले नेपालीहरूसमेत अहिले घुम्न आउन छाडेको उल्लेख गर्दै द्वन्द्वको प्रभावका कारण भएको महँगी र ती देशमा भएका आफ्ना इस्टमित्रको चिन्ताले नेपालीलाई घुम्ने र रमाउने उत्साह नभएको बताए। जहाज भाडा अत्यधिक बढ्दा पनि अन्य मुलुकबाट समेत पर्यटक नआएको उनले जानकारी दिए।  

पर्यटन व्यवसायी सुमन घिमिरेले आफ्नो होटलमा बुकिङ भएका ५० प्रतिशत रद्द भएको बताउँदै अक्टोबर र नोभेम्बर तिरको स्थगित नभएको तर तत्काल द्वन्द्व रोकिएमा क्रमशः सुधार हुने उल्लेख गरे। द्वन्द्वका कारण मुख्य रुपमा युरोपियन, बेलायती, अमेरिकन, जर्मनलगायत देशका पर्यटकले यात्रा स्थगन गरेको उल्लेख गर्दै उनले मुख्य मौसमका रुपमा लिइने यो समयमा द्वन्द्व र निर्वाचनका कारण प्रभावित बनेपछि यो वर्ष समग्रमा पर्यटन व्यवसाय प्रभावित हुन पुगेको बताए। उनले भने, 'अब एक महिना बाँकी छ। यो मौसम राम्रो हुने देखिएन।' जहाँ जे हुँदा पनि पर्यटन क्षेत्र प्रत्यक्ष रुपमा प्रभावित हुने गरेको भन्दै उनले चिन्ता व्यक्त गरे।  

वनवास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेले मध्यपूर्व तनावका कारण पर्यटकहरूले बुकिङ रद्द गरेको बताए। यो मौसममा युरोपियनसहित विभिन्न देशबाट ठूलो सङ्ख्यामा पर्यटक आउने गरेको उल्लेख गर्दै उनले यस वर्ष द्वन्द्वका कारण प्रभावित बनेको भए। मध्यपूर्वका देशहरूमा ट्रान्जिट लिएर आउने जहाजहरू रोकिएपछि पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित बनेको न्यौपानेको भनाइ छ। उनले भने, 'युद्धले नेपालको हस्पिटालिटी क्षेत्रमा नराम्रो असर पर्यो।'

पर्यटन व्यवसायी सन्तोष गिरीले मुख्य मौसममा द्वन्द्व भएपछि प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा परेको छ भन्दै नेपाल आउने पर्यटकहरूले प्रयोग गर्ने एयरलाइन्स र ट्रान्जिटका विमानस्थलहरू बन्द हुँदा टिकट काटेका पर्यटकले बुकिङ रद्द गरेको बताए। उनले भने, 'द्वन्द्वको मारमा परेपछि घुम्न र रमाउन को आउने।'

सौराहामा १४८ वटा होटल छन्। जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ। यस क्षेत्रमा प्रत्यक्ष रुपमा ६ हजार ४०० ले रोजगारी पाएका छन्। अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायीक वनमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीलगायतका दुर्लभ वन, वन्यजन्तु र चराचुरुङ्गी हेर्न यहाँ स्वदेशी र विदेशी पर्यटकहरू आउने गर्दछन्। 

यसका अतिरिक्त सौराहामा थारू संस्कृति पनि पर्यटकका लागि रुचिकर बन्दछन्। यसका साथै नेपालका विभिन्न सङ्घसंस्थाले पनि सौराहामा कार्यक्रम गर्न आउँदछन् भने भारतीयहरू विवाहका लागि पनि सौराहा आउने गर्दछन्। द्वन्द्वले सबैतिर प्रभाव पार्दा अन्य क्षेत्रसँगै यहाँको पर्यटन क्षेत्र पनि प्रभावित बनेको हो।

प्रकाशित: ९ चैत्र २०८२ १६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App