२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

ठेकेदार र सरकारले बेवास्ता गरेपछि कोदालो बोकेर राजमार्ग मर्मतमा जुटे जनता

दशकौंदेखि ठेकेदारको लापरबाही र संघीय सरकारको बेवास्ताले अलपत्र परेको राष्ट्रिय गौरवको आयोजना, मध्यपहाडी लोकमार्ग, मर्मत गर्ने जिम्मा अन्ततः स्थानीयले नै आफ्नो काँधमा लिएका छन्।

खोटाङको साकेला गाउँपालिकाले शनिबारदेखि श्रमदानमार्फत लोकमार्गको क्षतविक्षत सडक मर्मत गर्न थालेको हो।

गाउँपालिका अध्यक्ष रविप्रकाश राई आफैँ कोदालो बोकेर श्रमदानको नेतृत्वमा उत्रिएपछि वडाध्यक्ष, कर्मचारी, शिक्षक, प्रहरी र स्थानीय सर्वसाधारणसहितको टोलीले सडक मर्मत अभियानलाई साथ दिएको छ।

वर्षायामले हिलाम्मे बनाएको र पहिरोले पुरेको लोकमार्गको साकेला–१ मा पर्ने करिब १० किलोमिटर खण्ड मर्मत गर्ने लक्ष्यसहित अभियान सुरु गरिएको हो।

‘सरकार र ठेकेदार कुर्दा दिक्क भयौं’

यो सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी भइसक्दा पनि सम्पन्न हुन सकेको छैन। लगातारको वर्षाले सडकमा पहिरो खस्ने र खाल्डाखुल्डी पर्ने समस्याले दिक्तेल-काठमाडौं आवतजावत गर्ने हजारौं यात्रुले दैनिक सास्ती खेप्दै आएका छन्।

‘यो सडक बन्न थालेको १० वर्ष नाघिसक्यो, तर ठेकेदारको लापरबाही र सरकारको बेवास्ताले अहिलेसम्म पूरा भएन,‘ अध्यक्ष राईले भने, ’संघीय सरकारको मुख ताक्दा र ठेकेदारलाई आग्रह गर्दा दिक्क भएर हामी आफैँ श्रमदानमा जुटेका हौं।’

संघीय योजना भएकाले स्थानीय तहले बजेट विनियोजन गर्न नमिल्ने तर नागरिकको पीडा टुलुटुलु हेरेर बस्न नसकिने उनको भनाइ छ।

दसैँ, तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा गाउँ फर्कनेहरूलाई सहज बनाउन पनि सडक मर्मतलाई तीव्रता दिइएको गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राईले बताइन्।

‘चाडपर्वमा परदेशबाट घर आउनेहरूले जोखिमपूर्ण यात्रा गर्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भनिन्।

शनिबार सुरु भएको अभियानमा करिब ७० जनाको सहभागिता रहेको थियो। उनीहरुले पहिलो दिनमै करिब १ किलोमिटर सडक मर्मत गरे। श्रमदान अभियानमा गाउँपालिकाका २ वटा ट्याक्टर तथा मध्यपहाडी लोकमार्ग आयोजनाका २ वटा जेसिबी र स्काभेटर समेत प्रयोग गरिएको छ।

साकेला गाउँपालिकाले विगत तीन महिनादेखि आकस्मिक पूर्वाधार सेवा गठन गरी श्रमदानमार्फत नै पालिकाभित्रका अन्य सडकहरू समेत मर्मत गर्दै आएको छ।

प्रकाशित: २१ भाद्र २०८२ २०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App