१८ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

चट्याङले घाइते मयालाई उपचार खर्चको सकस

जुम्लाको गुठिचौर गाउँपालिका-५ कुम्डी गाउँका ४५ वर्षीया मया भण्डारीका लागि गत असोज ८ गतेको साँझ जीवनकै कठिन क्षण बन्यो।

ठकुरज्यू देउलादेउली पाटनमा भेडा चराउँदै गर्दा साँझ करिब ४ बजे परेको चट्याङले उनलाई गम्भीर घाइते बनायो। टाउकोदेखि खुट्टासम्म शरीरका विभिन्न भागमा गम्भीर असर पुगेपछि तत्काल उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पुर्‍याइयो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालका अनुसार चट्याङबाट मयाको शरीरको करिब ४५ प्रतिशत भाग जलेको छ। जुम्लामा प्रारम्भिक उपचारपछि उनको अवस्था थप जटिल देखिएपछि नेपालमा उपचार सम्भव नभएको भन्दै भारत लैजानुपर्ने भयो।

नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई भारतको लखनउ पुर्‍याइएको हो। अहिले उनी त्यहीँ उपचाररत छन्।लखनउमा उपचाररत मयाको स्वास्थ्यमा पछिल्लो समय केही सुधार देखिएको परिवारले जनाएको छ।

स्वास्थ्यमा देखिएको सुधारले परिवारमा उनलाई बचाउन सकिने आशा पलाएको छ। तर त्यो आशासँगै उपचार खर्चको बोझ भने दिनप्रतिदिन बढ्दै गएको छ। परिवारका अनुसार अहिलेसम्म उपचारमा ४५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

मयाको उपचार अझै पूरा भएको छैन। पूर्ण उपचारका लागि एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने भएपछि आर्थिक रूपमा कमजोर परिवारका लागि उपचार आफैंमा ठूलो संकट बनेको छ। अहिलेसम्म आफन्त, चिनजानका व्यक्ति तथा विभिन्न स्रोतबाट सहयोग जुटाएर उपचार खर्च व्यवस्थापन गर्दै आएको परिवार अब थप खर्च धान्न सक्ने अवस्थामा छैन।

मयालाई बचाउन सकिने आशा बढिरहेका बेला उपचार खर्च अभावले परिवारलाई अर्को संकटमा धकेलेको छ। उपचार रोक्नुपर्ने अवस्था नआओस् भनेर परिवार अहिले सहयोगी हातको खोजीमा छ।

प्रकाशित: १७ आश्विन २०८३ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App