१५ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

चितवनमा पहिचान नखुलेका २८० शवको व्यवस्थापन, १२ को सनाखत

रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका पहिचान नखुलेका २८० शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गलमा ती शवलाई डिएनए नमुना सुरक्षित राखेर सोमबार रातिसम्म जमिनमुनि व्यवस्थापन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार चितवनमा हालसम्म ३२१ शव फेला परेका छन्। तीमध्ये २८० शवको व्यवस्थापन गरिएको छ भने १२ शवको सनाखत भएको छ।

शव व्यवस्थापन गर्न कठिन भएपछि प्रहरीले शनिबारदेखि डिएनए नमुना संकलन गरेर शवलाई देवघाटको जङ्गलमा खाडल खनी जमिनमुनि राख्न थालेको हो। शनिबार ९६, आइतबार १०३ र सोमबार ८१ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

व्यवस्थापन गरिएका शवमध्ये १०१ जनाको लिङ्ग पहिचान हुन सकेको छैन। त्यस्तै १०३ पुरुष, ६४ महिला, ६ बालक र ६ बालिकाको शव रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सबै शवको डिएनए नमुना सुरक्षित राखिएको छ। सनाखत भएका शव आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको छ। तर केही आफन्तले शव पहिचान गरे पनि जमिनमुनि व्यवस्थापन गरिसकिएकाले तत्काल शव लैजान पाएका छैनन्।

कोहलपुरबाट आएका दिप्रका थारुले आफूहरूले शव पहिचान गरे पनि गाडिसकिएकाले डिएनए परीक्षण नगरी लैजान नपाएको बताए। ‘हाम्रो शव हामीले पहिचान गरेका छौँ,’ उनले भने, ‘तर शव गाडिसकेकाले डिएनए परीक्षण नगरी लैजान पाएका छैनौँ।’

चितवनका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले शवलाई अन्त्येष्टि नभई पहिचान गर्न सकिने गरी व्यवस्थापन गरिएको बताए। उनका अनुसार डिएनए नमुना सुरक्षित राखेर प्रत्येक शवमा संकेत चिह्नसमेत राखिएको छ।

‘हामीले शवलाई अन्त्येष्टि गरेका होइनौँ, व्यवस्थापन गरेका हौँ,’ अर्यालले भने, ‘मृतकको डिएनए नमुना संकलन गरेर राखेका छौँ। डिएनए परीक्षण आफन्तसँग मिलेपछि उनीहरूले शव लैजान सक्नुहुन्छ।’

चितवनमा ठूलो संख्यामा शव फेला परेपछि व्यवस्थापनमा समस्या भएकाले कानुनी प्रक्रियाअनुसार जमिनमुनि व्यवस्थापन गर्नुपरेको उनले बताए।

नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा शव व्यवस्थापनमा परिचालित छ। सोमबार मात्रै चितवनमा ४९ शव फेला परेका छन्।

हालसम्म फेला परेका ३२१ शवमध्ये १२ को सनाखत भएको छ। १२६ शवको पहिचान खुल्न सकेको छैन भने ११६ पुरुष, ६६ महिला, सात बालक र छ बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।

शवलाई जमिनमुनि व्यवस्थापन गर्न थालेसँगै चितवनमा निर्माण गरिएको अस्थायी शव संकलन केन्द्र पनि बन्द गरिएको छ। अब नदी तथा आसपासका क्षेत्रमा फेला पर्ने शवको डिएनए नमुना संकलन गरी संकेत चिह्नसहित जमिनमुनि व्यवस्थापन गरिने प्रशासनले जनाएको छ।

प्रकाशित: १५ भाद्र २०८३ २२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App