नागरिकको जन्मदेखि मृत्युसम्मको दायित्व स्थानीय सरकारले लिने समाजवादी नीतिलाई व्यवहारमा उतार्दै भक्तपुर नगरपालिकाले ज्येष्ठ नागरिकका लागि ख्वप आदर निकेतन सञ्चालनमा ल्याएको छ।
परिवारको स्याहार नपाएका वृद्धवृद्धाले मासिक १ हजार रुपैयाँ शुल्क तिरेर स्वास्थ्य सेवासहितको यस निकेतनमा बस्न पाउनेछन्।
भक्तपुर नगरपालिका वडा नं-६ अंचा पुखु (पोखरी) परिसरमा निर्माण गरिएको उक्त निकेतनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले आइतबार उद्घाटन गरे।
सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने यस निकेतनमा बस्न हालसम्म वडा नं-१ देखि १० सम्मका २० जना ज्येष्ठ नागरिकले नाम दर्ता गराइसकेका छन्।
उद्घाटन कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले निकेतनमा भर्ना भएका ज्येष्ठ नागरिकलाई फूलमाला लगाएर स्वागत गरेका थिए।
शिशु स्याहार केन्द्रदेखि कलेजसम्म र स्वास्थ्य उपचारका लागि ख्वप अस्पताल सञ्चालन गरिसकेको नगरपालिकाले अब वृद्धवृद्धाको स्याहारको जिम्मा पनि लिएको उनले बताए।
आफ्नो पार्टीको समाजवादी सिद्धान्तअनुरूप निर्वाचनमा विजयी भएपछि सोही अवधारणालाई नगरपालिकाले अगाडि बढाइरहेको नगर प्रमुख प्रजापतिको भनाइ छ।
आदर निकेतनमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य र मनोरञ्जनलाई विशेष प्राथमिकता दिइएको छ। नगरपालिकाका अनुसार त्यहाँ नियमित स्वास्थ्य परीक्षणका लागि डाक्टरको व्यवस्था हुनुका साथै नर्सिङ स्टेसनमा एक जना नर्स सधैँ खटिनेछन्। पोषणविज्ञको सल्लाहअनुसार खाना खुवाइने यस निकेतनमा शुद्ध पिउने पानीका साथै मनोरञ्जनका लागि टेलिभिजन, परम्परागत खेल र भजन-कीर्तनको व्यवस्थासमेत मिलाइएको छ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले जन्मदेखि मृत्युसम्मका संस्कार तथा नागरिकका सामाजिक आवश्यकतासँग जोडिएका विषयमा जिम्मेवारी लिने नीति नगरपालिकाले अवलम्बन गरेको बताइन्।
ज्येष्ठ नागरिकलाई सुरक्षित वातावरण, स्वास्थ्य सेवा र सामाजिक सहभागिताको अवसर प्रदान गर्न निकेतन स्थापना गरिएको उनले स्पष्ट पारिन्।
दशकौंपछि पहिलो पटक यस्तो आदर निकेतन सञ्चालनमा ल्याउन सकिएको भन्दै कार्यक्रममा खुसी व्यक्त गरिएको थियो। समारोहमा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ल, वडा नं-६ का वडा अध्यक्ष डा. हरिराम सुवाल, महिला वडा सदस्य रोशनीमैयाँ सुवाल लगायतले निकेतनको महत्त्व र आवश्यकतामाथि चर्चा गरेका थिए।
प्रकाशित: ४ आश्विन २०८३ १८:२० आइतबार


-600x400.jpg)


