महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। टेम्कमैयुङ गाउँपालिका–४ मा रहेको झरनाको संरक्षण र विकास गरिएसँगै पर्यटकको रोजाइमा परेको हो।
मुन्दुम पदमार्ग क्षेत्र चखेवाबाट नजिकै रहेको यो स्थान घुम्न आउनेहरूका लागि मनोरञ्जनस्थल बनेको छ। सडकको सहज पहुँच भएसँगै पर्यटकको आवागमन बढेको टेम्कमैयुङ–४ का वडाध्यक्ष हर्कराज राईले बताए। झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ। दैनिक दर्जनौं मानिस झरनामा रमाइलो गर्न पुग्ने गरेका छन्। यो आर्थिक वर्षमा पनि आवश्यक संरक्षण र विकासका लागि रु आठ लाख बजेट विनियोजन भएको वडाध्यक्ष राईले बताए।
‘महभिर झरना हाम्रो वडाको महत्त्वपूर्ण पर्यटकीयस्थल बनेको छ,’ वडाध्यक्ष राईले भने, ‘यहाँको संरक्षण र विकास गरिएसँगै यो क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ। अझै पनि यसको विकासका लागि काम भइरहेको छ।’
विशेषगरी गर्मीयाममा धेरै पर्यटकको जमघट हुने गरेको छ। शनिबार र अन्य बिदाको समयमा मानिस विभिन्न ठाउँबाट घुम्न आउने गरेको स्थानीयको भनाइ छ। यो झरना ६० मिटर अग्लो छ। बाह्रै महिना भिरको छाँगबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ।
गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झरना वरिपरि पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम गरेको प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताए। सदरमुकामबाट नजिकको गन्तव्य रहेकाले यहाँ मानिसहरूको जमघट हुने उनको भनाइ छ।
महभिर झरनालाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने उद्देश्यका साथ विगतदेखि नै विकासको काम भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए। टेम्कमैयुङ प्राकृतिक स्रोत र पर्यटकीय क्षेत्रको धेरै सम्भावना भएको गाउँपालिका रहेकाले यसलाई पर्यटनसँग जोडेर भावी योजनालाई अगाडि बढाइएको उपाध्यक्ष राईले जानकारी दिए।
महभिर झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आवागमनका लागि काम गर्ने योजना रहेको अध्यक्ष बस्नेतको भनाइ छ।
कृषि र पर्यटनलाई गाउँपालिकाको दिगो आर्थिक पक्षसँग जोड्ने लक्ष्य लिएर सोहीअनुसार गाउँपालिकाले लगानीमा जोड दिएको उनको भनाइ छ। भोजपुर–चखेवा मध्यपहाडी लोकमार्गबाट नजिकै रहेको यो झरना भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर दूरीमा अवस्थित छ। रासस
प्रकाशित: २९ भाद्र २०८२ ११:३८ आइतबार





