२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

गृहमन्त्री र पीडितबिच ७ बुँदे सहमतिपछि सिरहा, जनकपुर र वीरगञ्जको जनजीवन सामान्य बन्दै

गत पाँच दिनदेखि विभिन्न घटनाका कारण तनावग्रस्त बनेको मधेस प्रदेश बिस्तारै सामान्य अवस्थातर्फ फर्किन थालेको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा डिजे बजाउने विषयलाई लिएर भएको विवादमा दुई युवाको गोली लागेर मृत्यु भएपछि सुरु भएको तनाव सिरहा, धनुषा, पर्सालगायत जिल्लामा फैलिएको थियो। अहिले भने प्रशासन, राजनीतिक दल तथा स्थानीय समुदायको पहलसँगै अधिकांश स्थानमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।

सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ शुक्रबार मध्यरातमा औरही गाउँपालिका–२ तुलसियाहीस्थित निवास पुगेका थिए। भेटका क्रममा गृहमन्त्री र मृतकका परिवारबीच ७ बुँदे सहमति भएको छ।

सहमतिअनुसार गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने, नेपाल सरकारका तर्फबाट परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइने, परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था मिलाइने तथा स्थानीय तहसँग समन्वय गरेर मृतकको सम्झनामा स्मृति पार्क निर्माण गरिने उल्लेख छ। साथै, छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने र शनिबार बिहान १० बजे अन्त्येष्टि गर्ने सहमति भएपछि सिरहाको अवस्था क्रमशः शान्त बन्दै गएको छ।

स्थानीय प्रशासनले पनि सर्वसाधारणलाई अत्यावश्यक उपभोग्य सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले शनिबार बिहान १० बजेसम्म कर्फ्यु आदेश खुकुलो पारेको जनाएको छ।

यता धनुषाको जनकपुरधाममा सामाजिक सद्‌भाव कायम राख्ने उद्देश्यले शनिबार बिहान सद्‌भाव र्‍याली आयोजना गरिएको छ। शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालयको रोहबरमा बसेको सर्वपक्षीय बैठकले समुदायबिच आपसी विश्वास र सहिष्णुता कायम राख्न संयुक्त रूपमा सद्‌भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो।

बारा प्रशासनको पहलमा कलैयामा सदभाव र्‍याली निकालिएको छ। यस्तै पर्साको वीरगञ्जमा पनि अवस्था सामान्य बन्दै गएको छ। शुक्रबार निकालिएको सद्‌भाव र्‍यालीपछि घण्टाघर क्षेत्रमा केही युवाले विरोध प्रदर्शन गरे पनि त्यसको प्रभाव सीमित रहेको प्रहरीले जनाएको छ। शनिबार बिहानदेखि बजार, व्यापार तथा यातायात सेवा क्रमशः सञ्चालनमा आउन थालेको पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

उता सर्लाही सदरमुकाम मलङ्गवासहित अन्य प्रभावित क्षेत्रमा पनि जनजीवन सामान्य बन्दै गएको जिल्ला प्रशासनले जनाएको छ।

लगातार पाँच दिनसम्म अशान्त बनेको मधेस प्रदेशमा अहिले सुरक्षा निकायको सतर्कता, प्रशासनको सक्रियता र समुदायबीच सद्‌भाव कायम गर्ने प्रयासका कारण अवस्था बिस्तारै सहज बन्दै गएको देखिएको छ। यद्यपि, सम्भावित अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था भने अझै कडा पारिएको छ।

प्रकाशित: १६ श्रावण २०८३ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App