नेपालगन्जको गर्मी जून महिनामा ४० डिग्री पार गर्छ। यात्रुहरूको लागि बसपार्कमा बस कुर्नु आफैँमा चुनौतीपूर्ण हुन्छ। यस्तो बेला, चिसो र आरामदायी कोठामा केही क्षण बस्न पाउने सुविधा यात्रुको लागि वरदान सरह हुन्थ्यो। तर, नेपालगन्ज बसपार्कभित्र यात्रुका लागि बनाइएको कुलिङ सेन्टर उद्घाटन भएको झन्डै तीन साता बितिसक्दा पनि अझै बन्द छ।
यात्रुहरू यसको लाभ लिन पाएका छैनन्। नेपालगन्जबाट काठमाडौं जाने तयारीमा बसपार्क पुगेका सन्तोष यादव तीव्र गर्मीले थाकेका थिए। घामको तातो हावाले श्वास लिनै गाह्रो भएको अवस्थामा उनले बसपार्कभित्रै नयाँ बनेको कुलिङ सेन्टर (शीतलन केन्द्र) को ढोका धकेल्न खोजे। तर, ढोकामा ताला लागेको देखेपछि उनी निराश हुँदै फर्कन बाध्य भए।
‘तापक्रम ४० डिग्री पार गरेको थियो। बसपार्कमा छायाँ पनि नपाएर चिसो ठाउँ खोज्दै कुलिङ सेन्टर पुगेको थिएँ, तर ताला लगाइएको रहेछ,’ यादव भन्छन्।
अर्का यात्रु मनोज खड्काको पनि उस्तै गुनासो छ। उनी भन्छन्, ‘बस कुर्दा घामको तातो हावाले नाक, मुख र शरीर नै पोलिरहेको थियो। कुलिङ सेन्टरमा बसेर केही राहत पाउँछु कि भनेर गएको थिएँ, तर त्यो पनि बन्द रहेछ।’ यात्रुको यस्तो अनुभवले स्पष्ट पार्छ कि योजनाको प्रभावकारिता उद्घाटन समारोहका तस्बिरमा मात्र सीमित छ।
नेपालगन्जको गर्मी सिजनमा यात्रुहरूलाई थकित बनाइरहेको छ। झन्झन् गर्मीले शरीर पोल्न थालेपछि, केही क्षणको राहत खोज्दै नेपालगन्ज बसपार्क पुगेका सन्तोष यादव र मनोज खड्काजस्ता यात्रुहरूले ठुलो आशा राख्छन्।
लामो समय घाममा कुर्दा शरीरमा निस्सासिएर उकुसमुकुस भएका उनीहरूलाई केही चिसो, आरामदायी ठाउँ पाउँ भन्ने इच्छा हुन्छ। तर, अहिले यहाँ उनीहरूको आशा पूरा भएको छैन।
असार २० गते नेपालगन्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त प्रयासमा बसपार्कभित्रै यात्रुहरूको लागि निर्माण गरिएको कुलिङ सेन्टर उद्घाटन भयो।
३९ लाख रुपैयाँ लगानीमा बनेको यो केन्द्र यात्रुहरूको सुविधा र स्वास्थ्य सुरक्षामा एक महत्तवपूर्ण कदम मानिएको थियो।
वातानुकूलित कोठा, आपत्कालीन स्वास्थ्य सेवा, पिउने पानी र आरामदायी कुर्सीहरूसहित तयार पारिएको यो केन्द्रले यात्रुहरूलाई गर्मीबाट बचाउन सक्ने अपेक्षा गरिएको थियो।
उपमहानगरपालिकाको विपद् शाखाका प्रमुख दिपेन्द्र श्रेष्ठका अनुसार उक्त कुलिङ सेन्टरका केही डकुमेन्टहरु आफूसमक्ष आइनसकेको भन्दै उनले यस विषयमा अनविज्ञता प्रकट गरे ।
नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर चन्दनराज दासले आवश्यक कार्यविधि तयार नभएकाले सञ्चालन हुन नसकेको बताए। ‘कार्यविधि तयार भएपछि मात्रै सुविधा सञ्चालनमा आउँछ,’ उनले बताए।
नेपालगन्जमा गर्मीको तातो हावाले स्वास्थ्य जोखिमहरू निम्त्याउने गर्छन्। त्यहाँ बसपार्कमा यात्रुको ठूलो भीड हुने हुँदा लामो समय घाममा बसेर यात्रुहरू थप प्रभावित हुन्छन्।
यस कारण यस्तो कुलिङ सेन्टरको उपस्थिति अत्यावश्यक छ। तर, त्यसका बाबजुद सुविधा बन्द रहँदा यात्रुहरूको अवस्था अझै दयनीय बनेको छ।
उपमहानगरपालिकाले २७ लाखमा भौतिक संरचना निर्माण गरेको छ भने नेपाल रेडक्रस सोसाइटीले १२ लाख मूल्य बराबरको उपकरण सहयोग गरेको छ। छानामा युपिभिसी प्यानल, भित्तामा जिप्सम बोर्ड लगाइएको छ। एसी चारवटा, पंखा आठवटा, वाटर कुलर र वाटर ट्याङ्की जस्ता सामग्रीसहित ६० जना बसेर आराम गर्न सक्ने क्षमता छ।
तर, यस्ता आधुनिक सुविधा हुँदा पनि सञ्चालनको लागि आवश्यक कार्यविधि तयार नहुँदा यसले आफ्नो उद्देश्य पूरा गर्न सकेको छैन। प्रशासनिक स्तरमा गरिएको ढिलाइले यात्रुहरूलाई निराश पार्न पुगेको छ।
स्थानीयहरू भन्छन्, ‘ठूलो रकम खर्च गरेर यस्तो सुविधा बन्द रहनु गलत हो। यो प्रशासनको कमजोरी हो।’
यसले देखाउँछ कि समस्या नगरको कार्य सञ्चालन र कार्यविधि निर्माणमा केन्द्रित छ। यद्यपि, नगरले चाँडोभन्दा चाँडो आवश्यक प्रक्रिया पूरा गरी कुलिङ सेन्टर सञ्चालनमा ल्याउनुपर्ने अवस्था छ।
नेपालगन्ज बसपार्कमा यात्रुहरूले अनुभव गरेको यो असुविधाले यात्रुको स्वास्थ्यमा असर पार्ने खतरा पनि बढाएको छ। गर्मीको यस्तो कठोर मौसममा, लुका कारण विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन्। त्यसैले कुलिङ सेन्टर खोल्न ढिलाइ हुनु जीवन रक्षासँग जोडिएको विषय हो।
प्रकाशित: १० श्रावण २०८२ १६:५३ शनिबार