तत्कालीन शिक्षामन्त्री एवं नेकपा एमालेका नेता रघुजी पन्तले केपी शर्मा ओलीको अन्तिम मन्त्रिपरिषद् बैठकमा के–के भएको थियो भनेर खुलाएका छन्। नागरिकन्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’मा कुराकानी गर्दै उनले त्यस दिनको घटनाक्रमबारे विस्तृतमा बताएका हुन्।
मन्त्री पन्तका अनुसार भदौ २३ गतेको प्रदर्शन र त्यसमा भएको मानवीय क्षतिपछि बसेको आकस्मिक क्याबिनेट बैठकमा गृहमन्त्रीले घटनाको जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरेका थिए। त्यसलगतै प्रधानमन्त्रीले केपी शर्मा ओलीले इलन मस्कको कम्पनी ‘एक्स’ले सरकारलाई पठाएको पत्र पढेर सुनाए।
‘एउटा कम्पनीले सार्वभौम राष्ट्रलाई लेखेको त्यो चिठीका रूपमा त्यसलाई हेर्ने हो भने त्यो नेपाल राष्ट्रका लागि असाध्यै अपमानजनक थियो,’ पन्तले भने। उनका अनुसार पत्रमा ‘तिमीहरूको भ्रष्ट देश, यहाँ–उहाँ’ जस्ता शब्दहरू प्रयोग गरिएको थियो। प्रधानमन्त्रीले पत्र पढेर सुनाएपछि क्याबिनेटमा उपस्थित सबैलाई त्यसले स्तब्ध बनाएको उनले सुनाए। ‘त्यो चिठी सुनेपछि हामीलाई चित्तै बुझेन,’ उनले भने।
सो पत्रपछि आफूले बैठकमा फेसबुक तत्कालका लागि खोल्ने तर एक्सलाई भने प्रतिबन्ध कायमै राख्ने प्रस्ताव राखेको पन्तले सुनाए। ‘मैले भनेँ– एक्सलाई चाहिँ प्रतिबन्ध कायमै राखौँ, फेसबुकलाई खोलौँ,’ उनले भने, ‘किनकि फेसबुकसँग कुराकानी जारी राखेर केही उपाय निस्किन्छ कि भनेर सोच्ने हो कि !’ तर प्रधानमन्त्रीले राष्ट्रियताको सवालमा कुनै सम्झौता गर्न नसकिने अडान लिए। ‘एउटा देशलाई यसरी हेपेर, एउटा राष्ट्रलाई, एउटा सार्वभौम देशलाई अपमान गरेको कुरालाई कसरी सहने ?’ पन्तले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने। उनले प्रधानमन्त्रीको उक्त अडान जायज भएको समेत बताए।
मन्त्री पन्तले भदौ २३ गते आफू अन्तर्राष्ट्रिय साक्षरता दिवसको कार्यक्रममा सानोठिमीमा रहेको र त्यहीँबाटै आन्दोलन चर्किएको खबर पाएको बताए। सुरक्षाको कारण देखाउँदै आफूलाई बाहिर ननिस्कन भनिएपछि दिनभर त्यहीँ नै रोकिएको उनले बताए। साँझ इमर्जेन्सी क्याबिनेट बैठकको खबर आएपछि उनी निजी गाडीमा बालुवाटार पुगेका थिए। उनले आन्दोलनमा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै त्यस्तो घटना नहोस् भनेर आफूहरूले कामना गरिरहेको सुनाए।
जेन-जीलाई पार्टी खोल्न सुझाव
नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले जेन-जी पुस्तालाई राजनीतिमा आएर राजनीतिक क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न सुझाएका छन्। उनले अब जेन-जीले देशको राजनीति सुधारका लागि राजनीतिमा आउनै पर्नेमा जोड दिएका हुन्। ‘जेन-जी भनेका पवित्र मन भएका हाम्रा भाइबहिनी/छोराछोरी हुन्।
उनीहरूले उठाएका माग सही छन्। अब उनीहरूले राजनीति सुधारको काम गर्नुपर्छ। उनीहरूले कि मन परेको पार्टीमा जोडिएर पार्टीलाई सुधार गर्दै समग्र प्रणालीको सुधारमा जुट्नुपर्छ कि आफ्नै पार्टी खोल्नुपर्छ। यी दुई विकल्पमा उनीहरूले काम गर्नुपर्छ,’ उनले भने, ‘अहिले त आँधी जस्तो हड्याङ हुडुङ आयो, कति क्षति भयो भयो। यसले निकास दिँदैन।’
जेन-जी आन्दोलनको दिन आफूहरू मन्त्रिपरिषद् बैठकका लागि भेला भएको स्मरण गरेका थिए। ‘हामी के-कसो गरेर मन्त्रिपरिषद् बैठकका लागि बालुवाटारमा भेला भयौँ। बालुवाटारको बैठकमा सहभागी गृहमन्त्रीले यो अवस्थामा रहन नसक्ने भन्दै पदबाट राजीनामा दिने घोषणा गर्नुभयो।
त्यति बेला यस्तो विषय परिस्थितिमा मुख्य मन्त्रालय नै खाली भएपछि समस्या हुन सक्छ भन्ने विषय उठेको थियो,’ त्यसपछि बैठकमा भएको छलफलबारे सुनाउँदै उनले भने, ‘उहाँले राजीनामा दिने कुरासँगै फेसबुकबारे आफूहरूले लिएको निर्णय फिर्ता लिनुपर्छ भन्नुभयो। प्रधानमन्त्रीज्यूले इलन मस्कको कम्पनी एक्सले पठाएको पत्रको विषयलाई लिएर कुरा गर्नुभयो।’
प्रकाशित: ७ आश्विन २०८२ ०७:४६ मंगलबार





