अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका डाक्टरहरूलाई चाँडै गर्भवती महिलाहरूलाई टाइलेनोल नामक दुखाइ निवारक औषधि नलेख्न भनिने बताएका छन्। उनले यो औषधि र अटिजमबीच विवादास्पद सम्बन्ध रहेको दाबी गरेका छन्।
ट्रम्पले सोमबार ह्वाइट हाउसको ओभल अफिसमा स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरसँगै यो घोषणा गरेका हुन्।
ट्रम्पले प्यारासिटामोल 'लाभदायक छैन' भनेर पनि दाबी गरे। उनले गर्भवती महिलाहरूले उच्च ज्वरोको गम्भीर अवस्थामा मात्र यो औषधि सेवन गर्नुपर्ने बताए।
प्यारासिटामोल टायलेनोलमा मुख्य घटक हो र अमेरिकामा यसलाई एसिटामिनोफेन पनि भनिन्छ।
केही अध्ययनहरूले गर्भावस्थाको समयमा टायलेनोल सेवन र बच्चाहरूमा अटिजम बीचको सम्बन्ध हुन सक्ने दाबी गरेका छन्, तर यी नतिजाहरू असंगत र अनिर्णीत छन्।
टायलेनोल बनाउने कम्पनी क्यानभेले गर्भवती महिलाहरूमा यो औषधिको प्रयोगको बचाउ गरेको छ।
बीबीसीलाई दिएको एक विज्ञप्तिमा कम्पनीले भनेको छ, 'हामी विश्वास गर्छौं कि स्वतन्त्र र बलियो विज्ञानले स्पष्ट रूपमा देखाउँछ कि एसिटामिनोफेन सेवनले अटिजम निम्त्याउँदैन। हामी अन्यथा कुनै पनि सुझावसँग पूर्ण रूपमा असहमत छौं र गर्भवती महिलाहरूलाई यसले निम्त्याउने स्वास्थ्य जोखिमहरूको बारेमा गहिरो चिन्तित छौं।'
प्रकाशित: ७ आश्विन २०८२ ०८:१६ मंगलबार





