कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ मौरीफाँटामा पाटेबाघको त्रास छाएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने बाघले पछिल्लो तीन दिनको अवधिमा आधा दर्जनभन्दा बढी घरपालुवा जनावरलाई मारेको छ।
निकुञ्जबाट डमरुसहित बस्ती छिर्ने बाघले साँझ नपर्दै स्थानीयका चौपायामाथि आक्रमण गर्न थालेको छ। स्थानीय किसान कासी लुहारले दुई महिनाअघि मात्रै रु ४० हजार ऋण लिएर किनेको दुधालु गाई बाघले मारेको बताए।
त्यस्तै, अर्का स्थानीय नर्मा बोहराले आफ्नो दुधालु गाईलाई बाघले गोठबाट तानेर झण्डै १०० मिटर टाढा पुर्याई खाएको बताए। साँझ सात नबज्दै बाघ बस्ती छेउछाउमा देखापर्न थालेपछि स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ। स्थानीय महेश महराका अनुसार त्यस क्षेत्रका अधिकांश परिवारले गाईभैँसी र बाख्रापालनबाट जीविकोपार्जन गर्दै आएका छन्।
‘बाघले दिनहुँ घरपालुवा जनावर मार्न थालेपछि हाम्रो रोजीरोटी नै सङ्कटमा परेको छ’, महराले भने। साँझ नपर्दै बस्तीमा बाघ पस्ने गरेको र चौपाया मारेर निकुञ्ज जाने गरेको उनले बताए। बाघका कारण मौरीफाँटा क्षेत्रको जनजीवन त्रसित बनेको छ। रासस
प्रकाशित: २ माघ २०८२ ०७:३० शुक्रबार




-600x400.jpg)
