३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

भारतले लिपुलेकबाट मानसरोवर यात्रा खुलाएकोमा माइतीघरमा विरोध प्रदर्शन

नेपाली भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवरको यात्रा सुचारु गर्ने भारतको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ।

संयुक्त विद्यार्थी संगठनले सोमबार माइतीघर मण्डलामा भेला भई भारतीय कदमको विरोध गरेका हुन्।

सडकमा उत्रिएका विद्यार्थीहरूले भारतले नेपाली भूभागमाथि हस्तक्षेप गरेको भन्दै चर्को नाराबाजी गरेका थिए

भारत सरकारले हालै मात्र लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुला गर्ने घोषणा गरेको थियो। भारतीय विदेश मन्त्रालयले अप्रिल ३० मा जारी गरेको विज्ञप्ति अनुसार, सन् २०२६ को जुनदेखि अगस्टसम्म सञ्चालन हुने उक्त यात्राका लागि कुल २० वटा समूह निर्धारण गरिएको छ।

जसमध्ये १० वटा समूह उत्तराखण्डको लिपुलेक पास हुँदै र बाँकी १० वटा समूह सिक्किमको नाथु ला पास हुँदै मानसरोवर जाने तालिका सार्वजनिक गरिएको छ।

प्रत्येक समूहमा ५० जना यात्री रहने भारतीय पक्षको तयारी छ। भारतले यो बाटोलाई पुरानै विषय भन्दै आफ्नो दाबी प्रस्तुत गरिरहेको छ।

नेपालको परराष्ट्र मन्त्रालयले आइतबार मात्रै दुवै छिमेकी मुलुक भारत र चीनलाई कूटनीतिक नोट पठाउँदै उक्त विवादित भूभागमा कुनै पनि किसिमको गतिविधि नगर्न आग्रह गरेको छ।

सरकारले उक्त पदमार्ग पर्ने भूमि नेपालकै हो भन्ने कुरामा आफू प्रतिबद्ध रहेको र यस विषयलाई गम्भीरताका साथ लिएको जनाएको छ।

प्रकाशित: २१ वैशाख २०८३ १८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App