१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

नेपालगन्जको जनजीवन सामान्य बन्दै

अवस्थामा सामान्य बन्दै गएपछि सञ्चालनमा आएका अटो रिक्सा ।

नेपालगन्ज सोमबार र मंगलबार जेन-जी प्रदर्शनका कारण भय र त्रास ग्रस्त बन्यो । सडकमा टायर बालिँदा कालो धुवाँको पर्दा जम्थ्यो, प्रहरी र प्रदर्शनकारीबीच चर्काचर्की हुन्थ्यो, कार्यालयहरूमा आगजनी हुँदै गर्दा सर्वसाधारण आत्तिएका थिए । सामान्य जनजीवन पूर्णरूपमा ठप्प थियो । तर, मंगलबार राति १० बजेदेखि नेपाली सेना परिचालन भएपछि चित्र फेरिन थालेको छ । शहर बिस्तारै सामान्यतर्फ फर्किरहेको छ, मानिसहरूको अनुहारमा हराउँदै गएको आत्मविश्वास पुनः फर्किन थालेको छ ।

नेपालगन्जको मुख्य बजार क्षेत्र सुनसान थियो । पसलहरू ताला झुण्ड्याएर बन्द, सडकमा तैनाथ प्रहरी, आकाशतिर धुवाँमात्र देखिन्थ्यो । बुधबारको दिउँसो त्यो अवस्था केही हदसम्म बदलियो । सडकमा निजी सवारीसाधन चल्न थाले । चिया पसलमा थोरै भए पनि ग्राहक आउजाउ गर्न थाले ।  

कोहलपुरतिर पेट्रोल पम्पमा गाडीहरू लामबद्ध देखिनु, मानिसहरू सामान्य जीवनतर्फ फर्किन खोजिरहेका छन् भन्ने संकेत हो । चिया पिउँदै बस्ने केही ग्राहकहरू खुलेआम भन्दै थिए, ‘भयावह दिन बिते, अब त कम्तीमा सहजै हिँड्डुल गर्न सकिन्छ ।’

सुरक्षा व्यवस्थामा सेना परिचालन भएसँगै मानिसले ढुक्क महसुस गर्न थालेका छन् । सेनाको गस्ती बढेपछि गल्लीगल्लीमा देखिने तिनका गाडी नागरिकका लागि आश्वासन बनेका छन् । उपमहानगरपालिका–१२ का रामकृष्ण श्रेष्ठ भन्छन्, ‘बाहिर निस्कनै सकिँदैनथ्यो, अहिले भने सेना देख्दा ढुक्क लाग्छ ।’ सेनाको उपस्थिति मात्रले होइन, उनीहरूको व्यवहारले पनि त्रसित नागरिकलाई मनोवैज्ञानिक सान्त्वना दिएको छ ।

यद्यपि, आगजनीले छोडेको घाउ अझै भुलिएको छैन । कोहलपुर नगरपालिकाको कार्यालयभित्र जलेर खरानी बनेका फाइलहरू अझै देखिन्छन् । नेपालगन्जस्थित कर कार्यालय जलेर नष्ट छ । जलेका भित्ताहरूमा कालो दागहरू अझै बाक्लै छन् । धुवाँको गन्ध विगतको त्रासलाई निरन्तर सम्झाइरहेको छ । प्रशासनिक सेवा नपाउँदा नागरिक असहज बनेका छन् । प्रमाणपत्र, दर्ता, नवीकरणका कामका लागि कार्यालय धाउने मानिसहरू हात खाली फर्किन बाध्य भएका छन् ।

पेट्रोल पम्पमा लाइन 

बजारमा भने हल्का मुस्कान फर्कन थालेको छ । धम्बोझीका केही पसल खोलिएका छन्, यद्यपि ग्राहक थोरै मात्र भेटिन्छन् । तरकारी बजारमा भने चहलपहल बढी छ । गाउँबाट ल्याइएका तरकारी सहरमा बिक्री हुन थालेका छन्, जसले उपभोक्तालाई सहज पारेको छ । यही दृश्यले सहर फेरि सामान्यतर्फ फर्किन थालेको अनुभूति दिलाउँछ । यातायातमा पनि केही सहजता आएको छ । आन्दोलनका कारण ठप्प रहेका लामो दूरीका बसहरू अझै चलेका छैनन्, तर निजी सवारीसाधन सडकमा दौडिन थालेका छन् । यात्रुहरूको अनुहारमा आशा देखिन्छ । नेपालगन्ज बसपार्कमा भेटिएकी सरिता खत्री भन्छिन्, ‘बुटवल जाने बस पाइएकै छैन । भोलिदेखि चल्छ रे भन्ने सुनेर राहत भएको छ ।’ उनको अनुहारमा कताकता ढुक्क र आशाको मिश्रण झल्किरहेको थियो ।

तर, विगतका केही दिन सामान्य नागरिकका लागि सजिलो थिएनन् । पसलमा आगो लगाइन्छ कि भन्ने त्रास, घर–घरमा आगजनी र लुटपाटको खबर, विद्यालयहरू बन्द हुँदा घरभित्रै बस्न बाध्य बालबालिका यी सबैले सहरलाई पूर्णरूपमा आतंकित बनाइदिएका थिए । सहरलाई फेरि पूर्णरूपमा सामान्य बनाउन समय लाग्ने निश्चित छ । सरकारी कार्यालयहरू पुनः सञ्चालन गर्न, विद्यालयमा विद्यार्थीलाई फर्काउन, मानसिक रूपमा त्रसित नागरिकलाई सान्त्वना दिन र व्यापारीलाई क्षतिपूर्ति दिलाउन राज्यले ठोस पहल गर्नुपर्ने अवस्था छ ।

सुरक्षाको जिम्मा अहिले सेना, प्रहरी र सशस्त्र प्रहरीले सम्हालिरहेका छन् । संयुक्त गस्तीले केही हदसम्म नागरिकमा भरोसा जगाइरहेको छ । तर, दीर्घकालीन शान्ति केवल सुरक्षाकर्मीको उपस्थिति मात्रले सम्भव हुँदैन भन्नेमा सबै सहमत छन् । बुधबारको नेपालगन्ज र कोहलपुरको दृश्य केही हदसम्म सामान्य बनेको छ । सडकमा गाडी चलेका छन्, बजारमा पसलहरू खुल्न थालेका छन्, मानिसहरू फेरि चिया पसलमा भेला हुन थालेका छन् । तर, जलेका भवन र धुवाँको गन्धले भर्खरै बितेको असामान्यतालाई स्मरण गराइरहेको छ । सहर सामान्य बन्दै गएको छ, तर पूर्णरूपमा सामान्य बन्न अझै समय, प्रयास र विश्वास चाहिन्छ । अत्यावश्यकबाहेक अन्य काममा बाहेक अरुबेला बाहिर ननिस्किन नेपाली सेनाले अपील गरेको छ ।

प्रकाशित: २६ भाद्र २०८२ १५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App