नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो जाने क्रम नरोकिएपछि सवारी आवागमन बन्द नै रहने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बिहीबारदेखि चितवन जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा लगातार पहिरो गइरहेको र पहिरो हटाउने कार्य जारी रहेको कार्यालयले जनाएको छ।
सडकको अवस्था जोखिमपूर्ण रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त सडकखण्डमा सवारी आवागमन बन्द नै रहने जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान सूचना जारी गर्दै जनाएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले शुक्रबार बिहान ७ः१५ बजे सूचना जारी गर्दै कार्यालयले सडकखण्डको अवस्थालाई ध्यानमा राखी सम्बन्धित सबैलाई जानकारी राख्न अनुरोध गरेका छन्।

प्रकाशित: ९ आश्विन २०८३ ०८:२२ शुक्रबार





