९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

बलियो न्यून चापीय प्रणाली उत्तर-उत्तरपश्चिमतर्फ सर्दैछ : महाशाखा

मौसम पूर्वानुमान महाशाखाले भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपास बलियो न्यून चापीय प्रणाली रहेको जनाएको छ।

यो प्रणाली उत्तर-उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने न्यून चापीय प्रणालीका रूपमा रहने सम्भावना रहेको छ। महाशाखाका अनुसार शुक्रबार बिहान कोशी, बागमती तथा गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका थोरै स्थानमा र मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा जारी छ।

आज दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। यी प्रदेशका पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

मधेश प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

राति पनि देशभर अधिकांश बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा, कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा तथा कोशी, मधेश र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।

मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैबिच, बाढी पूर्वानुमान महाशाखाका अनुसार इलाम जिल्लास्थित कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ। त्यसैले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहेका नागरिकलाई दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यस्तै, काभ्रेपलाञ्चोक जिल्लास्थित रोशी खोला पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा रहेका नागरिकलाई बिहानसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: ९ आश्विन २०८३ ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App