९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

रोशी पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ। 

आज बिहान ४ः३० बजे बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका-७ स्थित चारसयबेँसी र रोशी-८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैबिच, जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक सडकखण्डलाई बन्द गराइएको छ। जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको अवस्था हेरी दिउँसो पनि बन्द गर्नसक्ने जनाएको छ भने हाललाई आइतबारसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाएको हो।

कार्यालयको बैठकको निर्णयअनुसार बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाइने भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

वर्षा तथा बाढी, पहिरोको अवस्था मूल्यांकन गरी दिउँसोसमेत सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालयले आवश्यक निर्णय लिने जनाएको छ। उक्त निर्णय कार्यान्वयनमा सहजीकरण गर्न छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रहरी युनिटलाई अनुरोध गर्ने निर्णय भएको छ।

बैठकले नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित बाढी तथा पहिरोको जोखिमबारे सचेत गराउने, जोखिमसम्बन्धी सूचना निरन्तर प्रवाह गर्ने तथा स्थानीय सञ्चारमाध्यममार्फत सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ। प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै दिनमा यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। रासस

प्रकाशित: ९ आश्विन २०८३ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App