३० श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

रोल्पामा फेरि पहिरोको वितण्डा : एकको मृत्यु, तीन बेपत्ता

रोल्पामा फेरि पहिरोले अर्को गाउँमा ठुलो धनजनको क्षति पुर्याएको छ।

सुनछहरी गाउँपालिका-२, गाममा बिहीबार राति परेको वर्षाका कारण पहिरो गई घरहरू पुरिँदा १ जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन्।

रोल्पा प्रहरी प्रमुख डिएसपी पंचकुमार बाखुले पहिरोले मानिस पुरिएको पुष्टि गरे भने सुनछहरी गाउँपालिका-२ का वडाध्यक्ष कृष्णबहादुर बुढाले फलबाङमा तीन जना पुरिएको बताए। ‘फलबाङमा ३ जना पुरिएका छन् भने गिष्ठेमा १ घर पुरिँदा १ महिलाको मृत्यु भएको छ। नेपाल प्रहरी र स्थानीयले उद्धार गर्दै हुनुहुन्छ,’ उनले भने।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पनि घटनाको पुष्टि गरे। घटनास्थलमा उद्धार तथा खोजीका लागि इलाका प्रहरी कार्यालय बाहिरीगामबाट प्रहरी टोली पठाइसकिएको उनले बताए।

यसअघि, बुधबार राति गएको पहिरोमा परी रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा १० जनाको मृत्यु भएको थियो भने तीनजना अझै बेपत्ता छन्। पहिरोमा परी गम्भीर घाइते भएका दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ। उक्त पहिरोमा बेपत्ता भएका तीन जनाको खोजी कार्य आज पनि भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०८३ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App