सूर्याेदय नगरपालिकामामा भूमि प्रशासन र नापी सेवा सुरु भएको छ । संघीय सरकारले सबै पालिकामा भूमि र नापीसम्बन्धी सेवा विस्तार गर्ने योजनाअनुसार सूर्याेदयमा पनि सेवा सुरु भएको हो ।
नगरको भूमि प्रशासन तथा नापी शाखाबाट पहिलो चरणका १० काम हुनेछन् । राजीनामा, हकहिस्सा राजीनामा, दर्ताफारी, सगोलनामा, हकछोडपत्र, दानपत्र, हालैदेखिको बकसपत्र, शेषपछिको बकसपत्र, जग्गासहितको अष्टलोह र पालिकाभित्रै सट्टपट्टा हुने जग्गाको काम शाखाबाट हुने भूमि प्रशासन शाखा प्रमुख सुवर्ण ढकालले बताए । शाखामा अधिकृत ढकालसहित ६ कर्मचारीको टोली छ भने नापी अधिकृत सागर सिंहको नेतृत्वमा ३ प्राविधिक छन् ।
‘जिल्लामा रहेको कागजी ढड्डाको रेकर्ड यहाँ नहुने भएकाले कारोबार गरिने जग्गाको धनीपुर्जा चाहिँ डिजिटलाइज्ड भइसकेको हुनुपर्छ,’ उनले भने, ‘कसैको धनीपुर्जा डिजिटलाइज्ड हुन बाँकी छ भने यहाँको भू–सेवामा आएर डिजिटलका लागि निवेदन बनाइ जग्गाधनीले जिल्लास्थित भूमि प्रशासन कार्यालय जानुपर्ने हुन्छ । त्यहाँ डिजिटल धनीपुर्जा बनिसकेपछि तोकिएका सबै काम यहींबाट हुन्छन् ।’ धनीपुर्जा डिजिटलाइज्ड गर्न चाहिँ डिजिटल औंठाछाप, डिजिटल फोटोलगायत विवरण चाहिने भएकाले सम्बन्धित जग्गाधनी जिल्लास्थित कार्यालय जानुपर्ने उनको भनाइ छ । तर, सूनपाबाट डिजिटलका लागि सिफारिस भएपछि जिल्लामा चाहिँ सोझै कार्यालयबाट काम हुने, अर्काे भू–सेवा केन्द्र जानु नपर्ने शाखाले जनाएको छ ।
शाखाका अनुसार सूर्याेदय नगरमै दर्ता र नियमन भएका सहकारीमार्फत् हुने जग्गा रोक्काको काम पनि यहींबाट हुनेछ । अन्य बैंक तथा वित्तीय संस्थामार्फत् हुने रोक्काको काम चाहिँ सम्बन्धित बैंक र जिल्लास्थित भूमि प्रशासन कार्यालयबीचमा अनलाइनबाटै नै हुने भएकाले सेवाग्राहीले कतै धाउनुनपर्ने कार्यालयका कम्प्युटर अपरेटर तीर्थ नेपालले जानकारी दिए ।
‘पालिकामा कारोबार गर्नुअघि धनीपुर्जा डिजिटलाइज्ड हुनु चाहिँ यसअघिको कागजी रेकर्ड पालिकामा नहुने भएकाले हो,’ उनले भने, ‘एक पटक डिजिटल धनीपुर्जा बनाइसकेपछि सबै रेकर्ड अनलाइन हुन्छ, पालिकाको शाखाबाट हेर्न र काम गर्न सकिन्छ ।’ तर, धनीपुर्जामा नाम, थर वा केही विवरण संशोधन गर्नुपरे चाहिँ जिल्लास्थित कार्यालय नै जानुपर्ने उनले बताए ।
सूर्याेदय नगरका कार्यबाहक मेयर दुर्गाकुमार बरालले भूमि र नापी को सेवा नगरबाटै सुरु हुनु उपलब्धिमूलक भएको बताए । ‘अब नगरबासीले भूमिसम्बन्धी धेरैजसो सेवा लिन जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ,’ उनले भने, ‘संघीयताको मर्मअनुसार स्थानीय तहमै यो सेवा सुरु हुनु सुखद् पक्ष हो ।’
प्रकाशित: १८ कार्तिक २०८३ १७:५६ बुधबार





-600x400.jpg)