६ आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

लालबकैया नदीको ठेक्का प्रकरण : फतुवा विजयपुरका निलम्बित मेयर यादव दोषी ठहर

रौतहटको फतुवा विजयपुर नगरपालिकाका निलम्बित मेयर गोपाल राय यादवलाई लालबकैया नदीको नदीजन्य पदार्थ ठेक्का प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेको छ।

विशेष अदालतले भ्रष्टाचार मुद्दामा गरेको फैसलाविरुद्ध यादवले दिएको पुनरावेदन सर्वोच्चले अस्वीकार गर्दै उनीविरुद्ध तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो।

यादवले विशेषको फैसलाविरुद्ध दिएको पुनरावेदनमा सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुनरावेदनका लागि पर्याप्त आधार नदेखिएको भन्दै आदेश दिएको बताइएको छ।

लालबकैया नदीबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।  

आयोगले उक्त ठेक्का प्रक्रियाबाट स्थानीय तहलाई १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ बराबर नोक्सानी भएको दाबी गरेको थियो।

विशेष अदालतले मुद्दामा यादवलाई मात्र कसुरदार ठहर गर्दै अन्य २० जना प्रतिवादीलाई सफाइ दिएको थियो। विशेष अदालतले २०८० असोजमा यादवलाई तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

के थियो लालबकैया ठेक्का विवाद ?

लालबकैया नदी फतुवा विजयपुर र गुजरा नगरपालिकाको क्षेत्रसँग जोडिएको नदी हो। नदीजन्य पदार्थको ठेक्का संयुक्त रूपमा लगाउने र त्यसबाट प्राप्त आम्दानीमध्ये फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत तथा गुजरा नगरपालिकाले ४० प्रतिशत प्राप्त गर्ने सहमति भएको थियो।

अख्तियारको अभियोगअनुसार आर्थिक वर्ष २०७५/७६ मा नदीजन्य पदार्थको ठेक्का प्रक्रियामा कानुनी प्रावधान पालना नगरी ठेक्का रद्द गरिएको थियो। बोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा त्यसो नगरी राजस्व मात्र संकलन गरिएको तथा ठेक्का रद्द गर्ने प्रक्रियाबाट स्थानीय तहलाई आर्थिक नोक्सानी पुगेको अख्तियारको दाबी थियो।

यही प्रकरणमा अख्तियारले २०७९ असार १२ गते यादवसहित तत्कालीन उपप्रमुख, वडाध्यक्ष, नगर कार्यपालिका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलगायत २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतले भने यादवबाहेक अन्य प्रतिवादीलाई सफाइ दिएको थियो। त्यसपछि यादवले आफूविरुद्धको फैसलामाथि सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।

सर्वोच्चको पछिल्लो आदेशपछि विशेष अदालतबाट भएको तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला कायम भएको हो।

राजनीतिक प्रभावको चर्चा

यादव २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट फतुवा विजयपुर नगरपालिकाको मेयर निर्वाचित भएका थिए। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि उनी निलम्बित भएका हुन्।

प्रकाशित: ६ आश्विन २०८३ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App