पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालकको मृत्यु भएको घटनाप्रति सरकार र प्रणालीमाथि प्रश्न उठाएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत नागरिकले आफूलाई अत्यन्तै निराश, आक्रोशित र असहाय महसुस गर्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको बताएकी हुन्।
उनले ट्राफिक नियम पालना गर्नुपर्ने विषयमा आफू सहमत भए पनि घटनालाई नियम उल्लंघन र कारबाहीको विषयमा मात्र सीमित गर्न नहुने बताएकी छन्।
‘ट्राफिक नियम पनि पालना हुनुपर्छ र कुनै मान्छे यस्तो अवस्थामा पनि नपुगोस्, जहाँ उसलाई आत्मदाह नै आफ्नो अन्तिम प्रतिरोध जस्तो लागोस्,’ श्रेष्ठले भनेकी छन्।
नियम उल्लंघन भएको भए कारबाही हुनुपर्ने र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा भन्दै कुनै नागरिकले प्रणालीसँग ठोक्किँदा आफूलाई अपमानित, असहाय, नसुनिएको र न्यायको बाटो नभएको महसुस गर्ने अवस्था सिर्जना भएको छ भने त्यसको समीक्षा पनि आवश्यक हुने बताएकी छन्।
श्रेष्ठले घटनालाई ‘को सही र को गलत’ भन्ने दुई पक्षीय बहसमा सीमित गर्दा मूल प्रश्न ओझेलमा पर्ने बताएकी छन्। उनले प्रश्न गरेकी छन्, ‘हामीले कस्तो सिस्टम बनाइरहेका छौँ, जहाँ एउटा मान्छेलाई बाँच्नुभन्दा मर्नु सजिलो विकल्प जस्तो लाग्न थाल्छ ?’
उनले ट्राफिक प्रहरीको भूमिकामाथि प्रश्न उठाउनु वा नियमको आवश्यकता अस्वीकार गर्नु आफ्नो उद्देश्य नभएको स्पष्ट गर्दै जवाफदेहिता र मानवीयता सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएकी छन्। उनले यस्ता घटनामा हामीले को जित्यो, को हार्यो भनेर बहस गर्नुभन्दा एकछिन रोकिएर हामी कहाँ चुकिरहेका छौँ भनेर हेर्नुपर्ने बताएकी छन् ।
उनले सभ्य समाज भनेको केवल ट्राफिक नियम पालना गर्ने समाज नभई नियम कार्यान्वयन गर्दा पनि नागरिकलाई मानवीय दृष्टिले हेर्ने समाज भएको उल्लेख गरेकी छन्।
नागरिकले ‘मलाई अन्याय भयो’, ‘मलाई सुन्ने कोही छैन’, ‘म धेरै आक्रोशित छु’ वा ‘मसँग अब कुनै बाटो छैन’ भन्ने अवस्था आउनुअघि नै आफ्ना गुनासा र समस्या राख्न सक्ने प्रभावकारी संयन्त्र आवश्यक रहेको उनको भनाइ छ।
‘हामीले यस्तो सिस्टम बनाउनुपर्छ जहाँ कसैले अन्त्यमा यस्तो महसुस नगरोस्, मसँग अब आफ्नो ज्यानबाहेक केही बाँकी छैन,’ श्रेष्ठले भनेकी छन् ।
प्रकाशित: ६ आश्विन २०८३ १०:४० मंगलबार



-600x400.jpg)

