१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति

गएको एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला छन्।

विभागले आज यहाँ पत्रकार सम्मेलन गरी यो विवरण सार्वजनिक गरेको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटक एक लाख बढीले श्रम स्वीकृति लिएका विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिए।

उनले श्रम स्वीकृतिको भार ६०.२८ प्रतिशत नयाँ र ३९.७२ प्रतिशत पुनः श्रम स्वीकृतिका छन्। उनको भनाइअनुसार वैदेशिक रोजगारीका लागि गत आर्थिक वर्षमा श्रम स्वीकृति लिने प्रमुख १० गन्तव्य मुलुकमा युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया र बहराइन छन्।

व्यक्तिगत श्रम स्वीकृति लिने प्रमुख गन्तव्य मुलुकमा युएई, रोमानिया, जापान, कतार, क्रोएसिया, माल्दिभ्स, कुवेत, मौरिसस, सर्बिया र माल्टा छन्। विगत पाँच वर्षमा कुल ३५ लाख बढीले श्रम स्वीकृति लिएका र त्यसमा ३१ लाख ८१ हजार पुरुष छन्।

वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने संस्थाहरू कुल एक हजार ६८७ रहेकामा हाल सक्रिय इजाजत प्राप्त संस्थाको संख्या ७२४ रहेको विभागले जनाएको छ। विसं २०८२ असारसम्म २१२ संस्थाले नवीकरण गरेका छन्।  

वैदेशिक रोजगारीमा अहिलेसम्म सात करोड २० लाख बढी क्षतिपूर्ति भराइएको विभागले जनाएको छ। महानिर्देशक भट्टराईले श्रम स्वीकृति जारी गर्ने कार्यलाई डिजिटल बनाई आवेदन दिएकै दिनमा जारी गर्ने प्रतिबद्धता पूरा गरेको बताए। उनले आगामी दिनमा अन्य सुधारका प्रयास जारी राख्ने बताए।  

उनले विगत डेढ महिनादेखि आवेदन दिएको दुई मिनेटमा श्रम स्वीकृति प्रदान गरिएको जानकारी दिए। अनुसन्धान तथा मुद्दा शाखामा रहेका करिब ३६ हजार फाइलको व्यवस्थापन गरी सेवाग्राहीमैत्री बनाउने लक्ष्यअनुसार दुईतिहाइ काम सम्पन्न भएको उनले बताए।  

सुधारका लागि पहिचान गरिएका विषयमा विद्यमान कानुनी व्यवस्था संशोधन गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए। वैदेशिक रोजगारीको सूचना व्यवस्थापन प्रणालीको स्तरोन्नतिका लागि प्राविधिक अध्ययन भइरहेको उनले जानकारी दिए।  

यस्तै, वैदेशिक रोजगारीमा जानुअघि गरिने स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउन अनुगमन प्रणालीमा सुधार गरिएको र त्यसको विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा जोड्न डिजिटल प्रणालीको निर्माण सम्पन्न भएको जनाइएको छ। विभागले सेवा प्रवाहको गुणात्मक र रचनात्मक सुधार गर्न प्रयासरत रहेको जानकारी गराएको छ। रासस

प्रकाशित: २ श्रावण २०८२ १९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App