काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सडक निर्माण तथा सडक विस्तारमा ढिलासुस्ती हुँदा ध्वनि प्रदूषण, सौन्दर्यमा गिरावट, सडक दुर्घटना, पैदलयात्रुलाई जोखिम, साइकल चालकलाई समस्या उत्पन्न भएको र मानसिक समस्यासमेत बढेको जनाएका छन्।
सूर्यविनायनक धुलिखेल खण्ड विस्तारको काम ढिला हुँदा त्यसबाट उत्पन्न भएका समस्याबारे विद्यार्थीहरूले फिल्डमै गई अध्ययन गरेका थिए। अध्ययनपछि तयार गरिएको रिपोर्ट (प्रतिवेदन) उनीहरूले विश्वविद्यालय प्रशासनलाई बुझाइसकेका छन्।
प्रतिवेदन तयारीमा संलग्न एक विद्यार्थीले भने, ‘हामीले सूर्यविनायक–धुलिखेल खण्डमा भएको ढिलासुस्तीबारे अध्ययन गरेका थियौँ तर यो समस्या सूर्यविनायनक धुलिखेल खण्डमा मात्र होइन, देशभरिका सडकको अवस्था यही हो। यसले सडक निर्माण तथा सडक विस्तारमा भइरहेका सबै सडकहरूको चित्रण गरेको छ।’
एकाध सडकबाहेक देशभरि भइरहेका सडक निर्माण तथा विस्तारका सबै काम समयमा हुन सकेका छैनन्। नारायणघाट–बुटवल खण्ड ६ वर्षदेखि बन्न सकेको छैन। जहाँतहीँ यस्तै समस्या छन्। नागढुंगा–मुग्लिन, लौकही–काँकरभिट्टा, कमला–कञ्चनपुरलगायत सबै सडक विस्तारका काममा चरम ढिलासुस्ती भइरहेको छ। विद्यार्थीहरूले तयार गरेको अध्ययन प्रतिवेदनमा सडक निर्माण तथा विस्तारमा ढिलाइ हुँदा त्यसबाट उत्पन्न समस्यालाई बुँदागत रूपमा व्याख्या गरिएको छ।
प्रतिवेदनका अनुसार सडक विस्तारमा ढिलाइ हुँदा त्यस क्षेत्रमा विशेष गरी सक्रिय निर्माण क्षेत्रहरू नजिकै ध्वनिको स्तरले सीमा नाघेको छ। मेसिनरी र सवारीसाधनहरूबाट निरन्तर आवाज आउने कारणले गर्दा तनाव बढेको, निद्रामा गडबडी भएको र जीवनको गुणस्तरमा कमी आएको स्थानीयले बताएका छन्। सडक निर्माणमा लामो समयसम्म ढिलाइले स्थानीयको मानसिक स्वास्थ्यमा असर परेको छ।
व्यवसायीहरूले अवरुद्ध यातायात र ग्राहकहरूको आगमनमा भएको कमीले हुने आर्थिक क्षति भएको भन्दै निराशा र चिन्ता प्रकट गरेका छन्। सडक निर्माणका क्रममा ढिलाइ हुँदा दुर्घटना दर पनि १५ देखि २० प्रतिशतसम्म बढेको पाइएको छ। स्थानीय प्रहरी स्टेसनहरूबाट प्राप्त तथ्यांकले विगत तीन वर्षमा सूर्यविनायक–धुलिखेल खण्डमा सडक दुर्घटनामा ३५ प्रतिशत वृद्धि भएको देखाएको छ। असमान सडक सतह, संकेतहरूको अभाव, अपर्याप्त प्रकाश र खराब सडक अवस्था, लापरबाहीपूर्ण हँकाइलगायत कारणले दुर्घटना बढ्ने गरेको हो।
त्यसैगरी सडक निर्माण ढिलाइले पैदलयात्री र साइकल चालक असुरक्षित बनेका छन्। सडक निर्माण तथा विस्तारमा ढिलो हुँदा अपूर्ण फुटपाथ तथा पैदलयात्री क्रसिङको अभावले जोखिम निम्तिएको छ। समयमा काम नहुँदा पैदलयात्रीहरू, विशेष गरी स्कुले बच्चाहरू र वृद्धवृद्धामा बारम्बार नजिकैको दुर्घटना र चोटपटक लाग्ने गरेको पाइयो। आपतकालीन प्रतिक्रिया पनि ढिलाइ भइरहेको छ। स्थानीयवासीको गुनासोअनुसार काममा ढिला सुस्ती हुँदा अपूर्ण सडकले एम्बुलेन्स र दमकल ट्रकजस्ता आपतकालीन सेवाहरूमा बाधा पुर्याएको छ, जसले गर्दा संकटको समयमा ढिलाइ भएको छ।
त्यसैगरी सडक निर्माण सुस्त हुँदा सौन्दर्यात्मक गिरावट पनि भएको छ। निर्माण भग्नावशेषको थुप्रो, अपूर्ण संरचनाहरू र खराब मर्मत गरिएको सडक किनारका कारण सो क्षेत्रको प्राकृतिक सौन्दर्यलाई कम गरेको छ। त्यसैले सडक निर्माण तथा विस्तारमा ढिलो सुस्ती हुँदा सौन्दर्यमा समेत गिरावट आएको छ। त्यसकै कारण सांस्कृतिक सम्पदा पनि क्षति पुगेको छ।
सडक निर्माण तथा विस्तारमा ढिलासुस्ती हुँदा सांस्कृतिक रूपमा महत्त्वपूर्ण स्थलहरू, जस्तै मन्दिरहरू र परम्परागत बस्तीहरू हुँदै जान्छ, जुन अराजक निर्माण क्षेत्रहरूले ओझेलम परेका छन्। स्थानीय नेताका अनुसार सौन्दर्यको ह्रासका कारण सांस्कृतिक पहिचान र पर्यटन सम्भावना गुम्ने समस्या आउँछ। सडक निर्माण तथा विस्तारमा ढिलासुस्ती हुँदा पर्यटनमा निर्भर व्यवसायमा पहिलेको तुलनामा राजस्वमा २५ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रकाशित: ९ मंसिर २०८२ ०७:३० मंगलबार





-1200x560-600x400.jpg)